काठमाडौं: ललितपुर मोबाइल कम्प्लेक्सले गत शुक्रबारदेखि आयोजना गरेको मोबाइल मेला २०१६ को तीन दिनमा तीन करोडभन्दा बढीको व्यापार भएको छ ।
मोबाइल कम्प्लेक्स शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाइल मेलाको तेस्रो दिनसम्ममा मोबाइल र एसेसरिज बिक्रीबाट तीन करोड ५० लाखको व्यापार भएको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी गराए ।
उनका अनुसार हरेक दिन मोबाइलको व्यापार बढ्दै गएको छ भने मेला अवलोकन गर्ने मानिसको संख्या पनि बढ्दै गएको छ ।
मेलामा सामसुङ र हुवावेका मोबाइलले ठूलो बजार लिएको बताउँदै बस्नेतले अहिलेसम्म सामसुङ मोबाइलको मात्र एक करोड ५० लाखभन्दा बढीको व्यापार भएको जानकारी दिए । उनका अनुसार हुवावेले एक करोडभन्दा बढीको व्यापार गरेको छ ।
मेलामा सामसुङका जे ७, जे २ र ए ८, हुवावेका जी–प्लेमिनी, पी ८ लाइट र वाई ६ , लाभाका एक्स ८९ र एक्स ९ तथा जियोनीको एफ १०३ बढी बिक्री भएका छन् ।
बस्नेतका अनुसार उल्लिखित कम्पनीका मोबाइलमा आठ प्रतिशतसम्मको छुट प्रदान गरिएको छ । मेलामा डीटीसी, हुवावेजस्ता कतिपय मोबाइल बान्ड्रको खरिदमा ४० प्रतिशतसम्मको छुट दिइएको छ ।
नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड मोबाइल सोरुमको रूपमा स्थापित ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिइएको छ ।
मेलामा मोबाइल, ब्याट्री चार्ज गर्ने पावरबैंक, हेड फोन, हाई स्पिड डाटाकेबल, टेम्पर ग्लास, सेल्फी स्ट्यान्ड र मोबाइलका कभरजस्ता एसेसरिज पनि निकै बिक्री भएका छन् ।
मोबाइलसँग सम्बन्धित सेवासुविधा एकै स्थानबाट पाउन सकिने मेलामा मोबाइल मर्मत गराउने ग्राहकको पनि बाक्लो उपस्थिति छ ।
मोबाइल मर्मतका लागि मेलामा पुगेका हात्तीवननिवासी उत्तम खत्री आधाभन्दा कम मूल्यमा मोबाइल मर्मत भएकोमा खुसी हुँदै मेलामा झन्डै ५० प्रतिशत छुट मिलेको बताए ।
ललितपुर मलको दोस्रो तल्लामा रहेको मोबाइल कम्प्लेक्समा ४० भन्दा बढी मोबाइल सोरुम तथा आधिकारिक सर्भिस सेन्टर छन् । न्यूनतम नौ सयदेखि एक लाख २५ हजार रुपैयाँसम्मका ब्राण्डेड मोबाइल फोन मोबाइल मेलामा उपलब्ध छन् ।
सामसुङ, हुवावे, जियोनी, आईफोन, एचटीसी, माइक्रोसफ्ट, डीटीसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिकलगायत ब्रान्डका फोन उपलब्ध रहेको कम्प्लेक्समा एकै पटक पाँच हजारसम्म ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बस्नेतले बताए ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा आउने हरेकलाई एक सय रुपैयाँबराबरको निःशुल्क लक्की ड्र कुपन दिने गरिएको छ । कुपनबाट हरेक दिन लक्की ड्रमार्फत तीनवटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।
एक्स्पोको अन्तिम दिन मोबाइल अवलोकन तथा प्रवेशकर्तामध्येबाट एकजनालाई लक्की ड्रको माध्यमले एक लाख रुपैयाँबराबरको बम्पर उपहार प्रदान गरिने कम्प्लेक्सले जनाएको छ ।
annapurnapost
Post a Comment