चीनले नेपालको अरुण नदीमा यस्तो तटबन्ध बनायो
चीनले अरुण नदीलाई छेकेर तटबन्ध लगाएर निर्माण गरेको सडक र अरुण नेपाली भूमि किमाथांका–७ मा कटान गर्दै ।
किमाथांका (संखुवासभा) : चीनले सीमा जोडिएको अरुण नदीमा एकतर्फी रूपमा तटबन्ध बाँधेर सडक निर्माण गरेको छ । तिंगिस्येन रियु हुँदै देन्दाङ नगरको चाँगा बजार आउन चीनले नेपालको स्वीकृतिबिना चीनतर्फको नदीमा तटबन्ध लगाएर सडक निर्माण गरेको हो ।
चिनियाँ पक्षले अरुणको बगरमा क्रसर मेसिन राखेर ढुंगा, गिटी र बालुवा निकाल्दै आएको छ । चीनले पाँच वर्षका लागि योजना बनाएर सीमा क्षेत्र चाँगा बजार विस्तार सहरीकरण गर्न सुरु गरेको हो । सिमानामा दुई देशबीचको सहमति र सम्झौताविपरीत कुनै पनि काम गर्न नपाइने भए पनि यस क्षेत्रमा एकलौटी रूपमा चीनले अरुणमा सडक बनाउन थालेको छ ।
पाँच वर्षभित्र सानो चाइना, चाँगा र देन्दाङ बजारलाई व्यवस्थित सहर एवम् व्यापारिक केन्द्र बनाउने लक्ष्यअनुसार चीनले काम गर्दै आएको छ । बगरबाट बालुवा ननिकाल्न अनुरोध गर्दा सुनुवाइ नभएको स्थानीय तेन्छेबी शेर्पाले बताए ।
छिमेकी चीनले सीमा सन्धि उल्लंघन गरेर किमाथांकाका बासिन्दालाई समस्यामा पारेको शेर्पाको आरोप छ । उनले राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरिरहेका विषयमा प्रशासनलाई जानकारी गराए पनि बेवास्ता गरिएको बताए ।
तिंगिस्येनसम्म सीधा यातायात सञ्चालन भइसकेको छ । सानो चाइना र चाँगा जोड्न अरुणमा चारवटा पक्की पुल निर्माण गरिएको छ । भूकम्पपछि पुनर्निर्माण कार्य तीव्र बनाएको चीनले देन्दाङ नगरमा सयौं परिवारलाई घर निर्माण गरिदिएको छ । किमाथांकाका लाच्या शेर्पाले आफूले निर्माणको जिम्मा लिँदा चिनियाँ ठेकेदारसँग अरुणको बालुवा खरिद गरेको बताए ।
सो क्षेत्रमा केही समयअघि उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेताहरू सुजता कोइराला र रामशरण महत पुगेर घुमघाम गरे पनि यसमा चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने गृह मन्त्रालयसँग पहल गरी पराराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग अरुणको सडक र क्रसर उद्योगका विषयमा थप छलफलका लागि पहल गर्ने बताए । खोलामा ढुंगा, गिटी, बालुवा निकाल्न थालेपछि अरुण नेपालतर्फ मोडिन थालेको देखिन्छ ।
अरुणले किमाथांका–७ हेमांथांकामा जमिन कटान सुरु गरेको छ । नागरिक समाजका अगुवा जीवनाथ खनालले सन्धिसम्झौताविपरीत कुनै पनि काम गर्न नहुने बताए
annapurnapost
Post a Comment