बिराटनगर, माघ १० । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आज मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई तत्त्काल किरिया खर्चवापत २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो ।
गत बिहीबार प्रहरीको गोली लागी मृत्यु भएका तीन जनाको शव पनि मोर्चाले वुझ्ने लिखित सहमति भएको छ । कोशी अञ्चल अस्पतालको शव गृहमा मृतकको शव राखिएको छ ।
त्यसैगरी मृतकलाई शहिद घोषणा गर्न, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्न र घाइतेहरुको निःशुल्क उपचारका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति पनि बैठकमा भएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयन रायको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलिय वैठकमा मधेसी मोर्चाका तर्फबाट राजकुमार यादव, मोहम्मद कादिरलगायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायत दलका प्रतिनिधिहरुले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
मोरङको रंगेली घटनापछि मधेसी मोर्चासहितका दलहरुसँग स्थानीय प्रशासनको पहिलोपटक छलफल भएको हो । गत बिहीबार रंगेलीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको थियो भने ९ जना घाइते छन् ।
imagekhaba
Post a Comment