नाका नखुली भारत नजाने प्रधानमन्त्री ओलीको अडान


काठमाडौं: नेपाल र भारतबीचको मुख्य नाका वीरगन्ज नखुलुन्जेल आफूले भारतको भ्रमण नगर्ने भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिबारे औपचारिक रूपमा जानकारी नभएको प्रतिक्रिया भारतीय पक्षले दिएको छ ।


भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले बिहीबार नयाँदिल्लीमा पत्रकारसँग भने, ‘नेपाली प्रधानमन्त्री नाका नखुलुन्जेल भारत भ्रमणमा नआउने भन्ने कुरा अहिलेसम्म औपचारिक च्यानलबाट हामीलाई जानकारी छैन ।' प्रधानमन्त्री ओलीले फेब्रुअरी अन्तिम साता भारत भ्रमण गर्ने भनिए पनि अझै टुंगो लाग्नसकेको छैन ।

मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गरिए पनि भारतले त्यसको पूर्ण रूपमा स्वागत गरेको छैन । मधेसी मोर्चा पनि आन्दोलन रोक्ने वा अघि बढाउने भन्ने द्विविधामा छ ।

तीन दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै ओलीले भारतले वीरगन्ज नाका नखोलेसम्म भारत भ्रमणमा नजाने बताएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चार महिनायता तीनपटक भएका टेलिफोन वार्तामा पनि ओलीले भारतले नाकाबन्दी नहटाएसम्म भारत भ्रमणमा नजाने बताएका थिए ।

प्रवक्ता स्वरूपले ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै बधाई दिँदा भारत भ्रमण गर्न आफूहरूले निमन्त्रणा दिइसकेको जानकारी गराए । ‘प्रधानमन्त्री ओली भारत यात्रामा आउँछन् भन्ने लाग्छ तर भ्रमणको मिति भने तय भइसकेको छैन । कूटनीतिक च्यानलबाट तय हुनेछ', उनले भने ।

नेपालमा विखण्डनकारी आन्दोलन चलाइरहेका सीके राउतलाई यतिबेला दिल्लीमा भारतीय अधिकारीले भेटिरहेको सन्दर्भमा एक भारतीय पत्रकारले जिज्ञासा राख्दा प्रवक्ता स्वरूपले स्पष्ट जबाफ दिन चाहेनन् । तर घुमाउरो पारामा उनले त्यसलाई स्वीकार्दैै भने, ‘हामी नेपालका कुनै पक्षको समर्थन गर्दैनौं । त्यहाँका सबै राजनीतिक तप्कासँग हाम्रो सम्बन्ध छ ।'

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालप्रति भारतको हेराइमा कुनै विरोधाभास नरहेको दाबी पनि गरे । उनले नयाँ संविधान संशोधन भएकोलाई सकारात्मक राजनीतिक विकास क्रमका रूपमा भारतले लिइसकेको र मधेसी दलसँग मिल्न बाँकी रहेका मुद्दामा सहमति, सम्झौता र लचकताका आधारमा समाधान खोज्न भनेको बताए ।

‘मधेसी दलले उठाएका कतिपय मुद्दा अझै मिल्न बाँकी छन् । सरकार र मधेसी मोर्चाबीच सहमति र सम्झौताको भावनाका साथ बाँकी विवादित मुद्दा हल होऊन् भन्ने हामीले चाहेको हो', उनले भने । शान्तिपूर्ण र स्थिर नेपाल भारतको चाहना भएको पनि उनको दाबी थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget