बुधबार बेलुकी सेतोपाटीमा एउटा समाचार प्रकाशित भयो 'उपराष्ट्रपतिसँग बाबु भन्छन–माइलोले घरमा टिभि जोडिदिए पुग्छ'। यो समाचारबारेमा उपराष्ट्रपति नन्दकिसोर पुन पासाङले ९ गते रोल्पा सदरमुकाम पुगेपछि थाहा पाए।
केहिबेरको औपचारिक कार्यक्रमपछि उपराष्ट्रपति पुन आफ्नो घर राङसी पुग्नु पर्ने भएकाले तत्काल टिभि लैजान सम्भव थिएन। बाबुसँगै घर पुगेका उपराष्ट्रपतिका कान्छो छोरा दिपेश पुनले बाजे रामसुरलाई सोधे 'बाजे टिभि के भयो र?'
'चिर्काे परेर बिग्रीगो।'
दिपेशले छेउमा रहेकी काकीलाई टिभी किन्नका लागि २० हजार थमाइदिए, 'ल्याएर जोडिदिनुहोला।'
'डिस होम त पुरानो छँदै छ, अब टिभि हेर्ने है बाजे।'
'यो नाति ठीक छ है,' बाजे गुन्गुनाए।
रोल्पा राङ्सी दुर्गम गाउँका किसान ८२ वर्षिय रामसुर पुनको माइलो छोरा नन्दकिसोर पुन 'पासाङ्' जन्म घर पुग्दा पहिले त हेलिप्याड मै रौनक देखिन्थ्यो। बिस्तारै बाटो, घरभरीको कडा सुरक्षा। अनि तामझामले एक जना कुनामा बोले 'बाँचेपछि त्यस्ता दिन पनि, यस्ता दिन पनि देख्न पाइने रै'च।'
नाति दिपेशले बाजे रामसुरलाई 'काठ्माडौं जाउँ' भनेर कर गरे तर उनले मानेनन्, 'हयाँ घर कले हेर्छ।'
'उता भन्दा त यतै ठीक छ मलाई। म जान्नँ। कैले कैले यता नि आउनु बरु।' रामसुर गाउँमै रमाउन चाहे।
'जनताको शासन भनेको यो पो रै'च हाम्रो गाउँको माइलो पनि ठूलो मान्छे भएच।' गाउँलेहरु आपसमा कुरा गर्दै आ–आफ्नो घर लागे उपराष्ट्रपतिको हेलिकप्टर ओझेल परेपछि। setopati
Post a Comment