बझाङ, १६ मंसिर । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।
माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्यो भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह गरिदियौं ।’
साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो ।
विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो ।
कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए ।
टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए ।
विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।
८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न यसअघि पनि पूजा कारागार आउने गर्थिन् ।
कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर बिहे भयो।’
केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया गाढा भएको थियो ।
भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले कामको समस्या हुँदा विवाह गरेको उनले बताए ।
विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई मिठाइ, फलफूल र प्रसाद दिएका थिए ।
१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल घरको कामकाज गर्ने बताइन् ।
२ वर्षपछि भरतको कैद भुक्तान हुनेछ । पूजा र भरत सामान्य साक्षर हुन् ।
dainiknepal
Post a Comment