अमेरिकामा तेल पानीभन्दा सस्तो

नेपाली उपभोक्ता अभागी
अमेरिकामा पानीभन्दा तेल सस्तो भएको छ। बुधवार अमेरिकी बजारमा कच्चा तेलको मूल्यमा थप गिरावट आयो र प्रति ब्यारेल (यसमा झण्डै १ सय ५९ लिटर हुन्छ) २७ अमेरिकी डलरभन्दा तल झरेको छ।
बजार अनुसार उपभोक्ता मूल्यमा पनि छिटो छिटो तल माथि भईरहने हुँदा अमेरिकी उपभोक्ताले सस्तो तेलको पुरा लाभ लिइरहेका छन् । मोटर दैनिक आवश्यकता भित्र पर्ने अमेरिकामा ग्याँस स्टेशन (तेलपम्प) मा प्रायः सवैले आफ्नो गाडीमा ट्यांकी फुल गरेर लैजाने गरेका छन्। अमेरिकामा प्रति ग्यालेन (३ दशमलव ७८ लिटर) तेल मूल्य सरदर १ डलर ५० सेन्टमा झरेको छ। यो राज्य र ठाउँ अनुसार फरक पर्छ। राज्यको स्थानीय करका कारण मिचिगन राज्यमा प्रति ग्यालेन तेल एक डलर भन्दा पनि कममा तेल झरेको छ।
सस्तो पाइने ठाउँमा समेत एक ग्यालेन पिउने पानीको मूल्य एक डलर पर्छ। तेलको मूल्य घटेकाले अमेरिकी उपभोक्तालाई फाइदा भएपनि यसको आम्दानीमा निर्भर देश र कम्पनीको समस्या बढीरहेको छ। खाडी मुलुकदेखि रूस, क्यानडालगायत कयौं तेल उत्पादक देशको आर्थिक समस्या गहिरिरहेको छ।
तेलमा निर्भर अर्थतन्त्र भएको रूसमा त्यहाँको मुद्रा रूवल निकै तल झरेको छ। क्यानडाको अर्थतन्त्रमा पनि समस्याहरू देखिन थालेका छन्। क्यानेडियन डलर खस्किएको छ। यसले त्यहाँ तरकारी लगायत कयौं आयातीय वस्तुको भाउ बढेको छ। अमेरिकीको मुख्य सेयर बजार बुधबार खुलेलगत्तै एकाएक ठूलो गिरावट आयो। यसको मुख्य कारण पनि तेल मूल्यमा आएको गिरावट थियो। बजार बन्द हुँदा मुख्य सेयर सूचक डोजोन्स केही सुधारिएपनि घटेर कारोबार बन्द भयो।
झण्डै ३ दशक उच्च आर्थिक बृद्धिमा रमाईरहेको चीनको अर्थतन्त्रमा सुस्त गति देखिएपछि विश्व आर्थिक परिदृष्यमा अन्यौलता आएको हो। उत्पादन बढ्नु र चीनको अर्थतन्त्रमा सुस्त गतिले तेलको माग वृद्धि हुन सकेको छैन। इरानमाथि लागेको आर्थिक नाकाबन्दी समाप्त भएकाले पनि विश्व बजारमा तेलको आपूर्ति बढेको छ। अमेरिका, क्यानडा, मेक्सिको लगायतका देशमा तेल उत्पादन बढेको छ। यसबाट तेल आपूर्ति बढेको हो। सबैभन्दा ठूलो तेल खपत गर्ने अमेरिकाले आफ्नो आन्तरिक उत्पादन बढाउँदै लगेको छ।
तेल उत्पादक राष्ट्रको संगठन ओपेक र यसको सवैभन्दा प्रभावशाली देश साउदी अरेवियाले पनि उत्पादन कटौती गर्दा आफ्नो बजार गुम्ने डरले यस्तो निर्णय गर्न सकेको छैन। यही कारण तेलको बजार तल झरिरहेको छ।
विश्व अर्थतन्त्रबाट नेपालमा प्रभाव
तेल र चीनको अर्थतन्त्रले नेपाली बजार पनि प्रभावित भएको छ। तर, नेपाली उपभोक्ता भने फाइदाभन्दा बढी वेफाइदामा परेका छन्। चीनले सुस्त अर्थतन्त्रलाई उकास्न आफ्नो मुद्रा युआन कमजोर बनाएको छ। यसको प्रभावले भारतीय रूपैयाँ पनि कमजोर भएको छ। एक भारू बराबर १ सय ६० रूपैंया स्थिर विनिमय दर तोकिएकाले भारू कमजोर हुँदा नेपाली रूपैंयाँ पनि खस्किएको छ। प्रति डलर बिहिबार एक सय ८ रुपैंया भन्दा माथि पुगेको छ।
डलर महंगो हुँदा आयातित समान पनि महंगो हुन्छन्। निकासी व्यापारभन्दा विदेशी समानको आयात बढी भएको हुँदा डलर बृद्धिले नेपाललाई नोक्सान पर्छ। तेलको मूल्य घट्दा नेपाली उपभोक्तालाई फाइदा हुनुपर्ने हो। तर, यसमा पनि नेपाली उपभोक्ता ठगिएका छन्। तेलको मूल्य घटेपनि नेपाल, भारतका उपभोक्तालाई भने यस अनुसार फाइदा पुगेको छैन। भारतले केही घटाए पनि विश्व बजार अनुसार तेल मूल्य कम गरेन। त्यहाँ नरेन्द्र मोदी नेतृत्वको सरकारले थप कर लगाएर आफ्नो आम्दानी बढाईरहेको छ। नेपाली उपभोक्ता चाहे जति किन्न पनि नपाएर यो बेला झनै अभागी भएका छन्।
सरकारले अन्तराष्ट्रिय मूल्यभन्दा बढीमा तेल बिक्री गरिरहेको छ। अमेरिकामा उपभोक्ताले कारमा हाल्ने तेल प्रतिलिटर ५० रूपैयाँभन्दा कममा पाईरहेका छन्। नेपालमा अहिले यसको मूल्य प्रति लिटर ९९ रूपैंया छ। त्यो पनि बजारमा मन लागेजति किन्न पाईँदैन। पेट्रोल पम्पमा सरकारले तोकेको मूल्यमा तेल भर्न पाउनुनै नेपाली उपभोक्ताले आफूलाई भाग्यमानी सम्झनुपर्ने अवस्था छ। हाल सरकारले निर्धारण गरेकै मूल्यमा तेल उपभोक्तालाई विक्री गर्ने हो भने नेपाल आयल निगम र सरकारकै आम्दानी बढ्छ। वीरगञ्ज नाका वाहेक अन्य स्थानबाट ढुवानीमा पनि कुनै अवरोध वा समस्या नभएको समाचारहरू आईरहेको छन्।
यो बेला भैरहवा लगायत अन्य नाकावाट जति बढी तेल ल्याएर विक्री गर्न सक्यो आयल निगमलाई त्यत्ति फाइदा छ। सरकारलाई पनि फाइदा हुन्छ। अहिले बढी तेल ल्याएर बजारमा विक्री गर्ने समय हो। पछि मूल्य बढ्यो भनेपनि यो देशका लागि पनि फाइदाजनक हुन्छ। अहिले सस्तो हुँदा तेल बजारलाई सुलभ बनाउने हो भने उपभोक्ताले पनि भविष्यका लागि केही सञ्चय गर्छन्। यो समान्य जुक्तिसमेत सरकार र आयल निमगले लगाउन सकेका छैन। सरकार र नेपाल आयल निगमको यो उपभोक्ता प्रतिको वेवास्ता र नालायकीपनको मूल्य नेपाली उपभोक्ताले व्यहोर्नुपरेको छ।
तेल मूल्य घट्दाको अर्को जोखिमपनि छ। लाखौं नेपाली युवा रोजगारीका लागि खाडी मुलुक गएका छन्। खाडी मुलुकको अर्थतन्त्र तेलमा निर्भर छ।
तेलको मूल्य घटेकाले कतिपय खाडी मुलुकले खर्च कटौती गर्न थालेका छन्। यसको असर त्यहाँ प्राप्त रोजगारीमा पनि पर्न सक्छ। खाडीबाट अरबौं रूपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिन्छ। यदि यसमा कमी आयो भने देशको आर्थिक स्थायित्वमा समेत असर पर्न सक्छ। खाडीमा नेपाली युवाले काम गरेर पठाएको पैसाले देशमा आर्थिक स्थायित्व आएको तथ्यलाई भुल्नु हुँदैन। अहिलनै असर देखिईसकेको छैनन्। तर, खाडी मुलुक समस्यामा परे भने नेपालले अर्को गम्भीर आर्थिक धक्का सहनुपर्ने छ।
भुकम्प, भारतको अघोषित नाकावन्दीको असर थेग्ने कठिन भईरहेको अवस्थामा यो अर्को जड्का हुने छ। यसमा अर्थमन्त्रालय र राष्ट्र बैंक बेलैमा सचेत हुनु जरूरी छ।setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget