क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपप्रधानमन्त्री रावलले मोर्चाका अरु मागको विषयमा कार्यदल, शीर्ष तहमा औपचारिक अनौपचारिक रुपमा नेपालको हितमा सहमति गर्न तयार रहेको स्पष्ट पार्दै सरकारले छिट्टै मधेसी मोर्चांलाई बार्ताको लागि बोलाउने जानकारी दिए ।
उनले सीमांकन बाहेकका अरु विषयमा मधेसी मोर्चासँग सहमतिको निकट रहेपनि सीमांकन गर्दा मधेसमा यति प्रदेश बनाउनुपर्ने भन्ने अडानका कारण सहमति हुन नसकेको भन्दै समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण सकारात्मक भए अरु विषयमा कुरागर्न सजिलो हुन्छ भनेकोले आफूहरुले संसोधन प्रक्रिया निष्कर्षमा पुर्याएको बताए ।
उपप्रधानमन्त्री रावलले नागरिकताको सवालमा अंगिकृत नागरिकता नपाउने भनेर कुप्रचार गरेर जनता भड्काउन खोजेको आरोप लगाउँदै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता पाउने ब्यवस्था स्पष्ट रहेको बताए ।
सीमांकनको सवालमा भने उनले राजनीतिक संयन्त्रको निष्कर्षको आधारमा राजनीतिक सहमतिमा सीमांकन गर्न तयार रहेको भन्दै अहिले नै यति वा त्यती प्रदेश भनेर लेख्न नसकिने स्पष्ट पारे ।
उपप्रधानमन्त्री रावलले संविधान संशोधनबाट अन्तर्राष्ट्रिय समूदायले नेपाली नेताहरु जनताको भावना बुझेर संविधान सुधार्न तयार छन भन्ने महसुस गरेको भन्दै नेपालको राष्ट्रिय हित चाहनेहरुले यसलाई सकारात्मक रुपमा लिने विश्वास ब्यक्त गरे ।
उनले कुनै छिमेकीले नेपालको लोकतन्त्र, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा सकारात्मक धारणा राखे त्यसलाई नेपालले स्वागत गर्ने स्पष्ट पार्दै नेपाल सरकार दुबै छिमेकीहरुसँग स्वाभिमानीपूर्वक राम्रो सम्बन्ध राख्न तयार भएको बताए ।
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै छिमेकी मित्र राष्ट्रहरु भारत र चीनको भ्रमणको तयारी भईरहेको भन्दै उपयुक्त समयमा भ्रमण हुने बताए ।
नेपाली सेनाको ईनर्जी विष्कुट खरिद निर्णय आफ्नो पालामा नभएको भन्दै अब त्यो नेपाली सेनाको नियम कानूनको अधिनमा रहेर अगाडि बढ्ने बताए । उनले भने– ‘त्यो निर्णय मेरो पालामा भएको होईन । त्यो मेरो टेवलमा आउने कुरा पनि होईन तर अब त्यो नियम कानून अनुसार अगाडि बढ्छ । नेपाली सेनाका नियम कानून पनि नयाँ संविधान र संरचना अनुसार परिवर्तन हुन्छ ।’
उपप्रधानमन्त्री रावलले स्याप्रुवेसी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएर काम अघि बढीसकेकोमा आवश्यक परे अरु निर्माणको जिम्मेवारी पनि सेनालाई दिईने बताए ।
कालोबजारी र तस्करी नियन्त्रण गर्न गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाईसकेकोले अब त्यसको अध्ययन गरेर कडा कदम चाल्ने स्पष्ट पारे ।
dainiknepal-
Post a Comment