काठमाडौं- ढुवानीका बेला हुने तेल चोरी रोक्न नेपाल आयल निगमले 'सेक्युरिटी लकिङ सिस्टम' प्रयोग गर्ने तयारी गरेको छ। भारतबाट ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्न नदिन निगमले यो विधि रोजेको हो।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट निजी ट्यांकरले तेल ल्याउँदा चोरी भएपछि निगमले नयाँ प्रविधि प्रयोग गर्न लागेको हो। ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकोले 'मेकानिकल सेक्युरिटी लकिङ सिस्टम' कार्यान्वयनमा ल्याउने तयारी भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। 'चुहावट कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्न कार्यदल बनेको थियो,' प्रवक्ता घिमिरेले भने, 'कार्यदलले दिएको सिफारिसका आधार यो प्रविधि प्रयोगमा ल्याउने प्रक्रियामा छौं।'
चोरी रोक्न निगमका इन्जिनियर विरेन्द्र गोइत संयोजकत्वमा गठित कार्यदलले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा 'मेकानिकल सेक्युरिटी लकिङ सिस्टम' जडान गर्न सिफारिस गरेको छ।
निगम व्यवस्थापनलाई बुझाएको प्रतिवेदनमा कार्यदलले यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोक्न सुझाएको छ। कार्यदलमा विज्ञसहित, पेट्रोलियम र ढुवानी व्यवसायीका प्रतिनिधि सहभागी थिए। नेपालमा करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्छन्। ट्यांकर चालकले बीचबाटोमा तेल झिकेर बेच्ने गरेका छन्।
निगमलाई करोडौं क्षति भएको बेला यो प्रणाली प्रयोगमा ल्याउने निष्कर्षमा पुगेको निगमका इन्जिनियर गोइतले बताए। 'पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी, मिसावट, अनधिकृत काम रोक्न यो प्रविधि भरपर्दो छ,' उनले भने, 'आइओसीले १४ वर्षअघि प्रयोगमा ल्याएको यो प्रविधि निगमले अहिले प्रयोग गर्न लागेको हो।'
यो प्रविधिको अध्ययन गर्न गत असारमा कार्यदल गठन भएको थियो। ६ महिना लामो अध्ययनपछि टोलीले प्रतिवेदन पेस गरेको हो। उक्त प्रणालीमा ट्यांकरको ढक्कनदेखि तलसम्म रड जोडेर ताल्चा लगाइन्छ।
यो प्रविधि अनुसार आइओसीमा तेल भरेर ताल्चा लगाएपछि यहाँको डिपोमा आएर मात्र खोल्न मिल्छ। 'ट्यांकर भरेपछि आइओसीका कर्मचारीले ताल्चा लगाउँछन्,' उनले भने, 'त्यो ताला यहाँ आएपछि डिपो प्रमुखको नेतृत्वमा खोलिन्छ।'
यसका लागि विशेष किसिमको ताल्चा र साँचो निर्माण गरिने छ। उक्त ताल्चा अन्य कम्पनीले साँचो तयार गर्न नसक्ने खालको हुने इन्जिनियर गोइतले बताए। 'यहाँ प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न सक्दैन,' उनले भने, 'उच्चस्तरीय प्रविधि भएकोले यो विश्वसनीय छ।'
त्यसको लागि ट्यांकरमा जडान गरेका डोम कभर, हिन्ज, पाइप लाइनको डेलिभरी भल्व, पाइपलाइनमा जडान भएको फ्लेन्ज आदिको डिजाइन परिवर्तन गर्नुपर्ने हुन्छ। यो परिवर्तन गर्न लाग्ने खर्च सम्बन्धित ट्यांकर धनीले बेहोर्नु पर्नेछ। त्यसमा प्रयोग हुने साँचो भने निगमले किन्नुपर्ने कार्यदलको सुझाव छ।
ट्यांकरमा प्रयोग भएको प्लास्टिक सिल पनि परिवर्तन गर्न सुझाइएको छ। तेल ढुवानी गरिरहेका ट्यांकर समयसापेक्ष परिवर्तन नभएको हुँदा यो कार्यान्वयनमा ल्याउन अति आवश्यक रहेको सरोकारवालाको ठहर छ।
विश्वका सबै कम्पनीले यो प्रविधि प्रयोग गरेकोले विश्वसनीय भएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। 'इन्धन ढुवानीका नाममा ब्रह्मलुट गर्नेलाई यसले पूर्ण रुपमा नियन्त्रण गर्नेछ,' प्रधानले भने, 'यो तुरुन्त कार्यान्वयनमा ल्याएर सुधारको काम थाल्नु पर्छ।'
यसमा मुख्य साँचो हुने भएकोले बीच बाटोमा चोरी हुने सम्भावना नहुने उनको विश्वास छ। 'निगमको इन्जिनियरिङ विभागले निकै उपयोगी र वैज्ञानिक प्रविधि सिफारिस गरेको छ,' उनले भने। निगम व्यवस्थापनले निर्णय गरेको तीन महिनामै यो प्रविधि ट्यांकरमा जडान गर्न सकिने बताइन्छ।
दुई पेट्रोल पम्पमा वाणिज्यको सिल
तेल वितरणमा अनियमितता गरेको आरोपमा वाणिज्य विभागले बालाजुको साई इन्टरप्रााइजेज र ललितपुर, सातदोबाटोको शिवशक्ति आयल स्टोर्समा सिलबन्दी गरेको छ।
उपभोक्तालाई लटको आधारमा वितरण गर्न आयल निगमले दिएको तेल वितरण नगरेको पाइएपछि सिल गर्नुपरेको वाणिज्य विभागका शाखा अधिकृत रामहरि पोख्रेलले बताए। 'निगमले दिएको पूरा तेल वितरण गरेको पाइएन,' शाखा अधिकृत पोख्रेलले भने, 'किन थोरै वितरण गरेको भन्ने चित्तबुझ्दो जवाफ नपाएपछि सिल गर्यौंल।'
निगमले ती पेट्रोल पम्पलाई ४–४ हजार लिटरका दरले पेट्रोल दिएको थियो। उक्त तेल आठ सय मोटरसाइकललाई दिनुपर्नेमा थोरैलाई बाँडेपछि 'सकियो' भनिएको थियो।
साईले चार हजार लिटर पेट्रोलमध्ये ५–५ लिटरका दरले ३ सय ६५ बाइकलाई मात्र बाँडेको भेटिएको तिमिल्सिनाले बताए। शिवशक्तिले पनि ४ सय ७७ जनालाई मात्र पेट्रोल दिएको उनले बताए। दुवै पम्पलाई २४ घन्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
nagariknews
Post a Comment