युवा फुटबलरलाई जितको भोक चढेको छ : प्रधानमन्त्री
फोटो :फुटबलरलाई सम्मान गर्दै प्रधानमन्त्री केपी ओली ।
सधैं जितेर सम्मान गर्ने मौका दिनुहोस्
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेलाडीलाई सधैँ च्याम्पियन' भएर सम्मानका लागि आफूलाई मौका दिन आग्रह गरेका छन् ।
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उनले टोलीका खेलाडीलाई सो कुरा बताएका हुन् ।
'तपाईंहरुलाई यसरी नै सम्मान गरिरहन पाउँ', खेलाडीलाई प्रतिप्रश्न गर्दै प्रम ओलीले भने 'सधैं जितेर सम्मान गर्ने मौका दिनुहुन्छ हैन ?'
प्रधानमन्त्री ओलीले २३ वर्षको अन्तरालपछि नेपाली टोलीले उपाधि जिताएर यसअघि लागेका खेल मिलेमतो (म्याच फिक्सिङ) लगायतका लज्जा बिर्साउँदै सम्पूर्ण फुटबललाई नै माथि उठाएको बताए ।
युवा फुटबल खेलाडीमा जितको भोक चढिसकेकाले आसन्न दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा पनि टोलीले स्वर्णपदक जित्नमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए ।
'खेलमा जित्नैपर्छ, त्यसमा पनि नेपालले जित्नैपर्छ, त्यसैले सागमा स्वर्ण पदकको ट्रफी उचालेर आउनुहोस्', उनले भने, 'तपाईंहरुबाट देश र जनताले त्यही नै आशा गरेको छ ।'
प्रधानमन्त्री ओलीले नेपाली हावापानी, परिवेश र उकाली-ओराली प्राकृतिक रुपमै जित्नका लागि योग्य रहेको बताए । 'त्यसमा सीप, दक्षता र अनुशासन मिसाउनुहोस्', उनले भने 'हामी सम्मान गरिरहन पाउँ ।
उनले 'च्याम्पियन' टोलीका सदस्यलाई जनही दुई÷दुई लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आर्थिक कारणले कतिपय खेलाडीको खेल र पारिवारिक जीवन कष्टपूर्ण रहेकाले आफू सुधारका लागि लागिपरेको बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले 'च्याम्पियन टोली' का खेलाडी तथा पदाधिकारीलाई दिवाभोजको आयोजना गरेका थिए । रासस
Post a Comment