मलेसिया, १८ फागुन । मलेसियामा नेपालीबाट नै नेपाली लुटिने क्रम बढेको छ । आइतबार भएको एउटा घटनाले मलेसियामा रहेका सिंगो नेपाली समुदायलाई नै स्तब्ध बनाएको छ ।
मलेसियामा नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चको बैठकमा भाग लिन आउँदै गरेका मञ्चका कार्यसमिति सदस्य निगम शाही आइतबार नेपालीकै योजनामा लुटिएका हुन् । दैलेख घर भएका शाही पोर्ट केलाङबाट केलाङ हुँदै गाडीमा राजधानी क्वालालम्पुर आउँदै थिए ।
‘पोर्ट केलाङदेखि केलाङसम्मको यात्रामा धादिङ घर बताउने एक जना नेपाली मसँगैको सिटमा बस्यो । उसले आफू यहाँ आएको पाँच बर्ष भए पनि बिरामी भएकाले सम्पूर्ण कमाई उपचारमा सकिएको र घरमा परिवारको अबस्था नराम्रो भएको बताउँथ्यो । केलाङ पुगेपछि उ र म बसबाट झ¥यौँ । हेर्दा बिरामी जस्तै लाग्ने र शरीरमा भएका कपडा पनि गरिबकै जस्ता हुनाले मलाई पनि दया लाग्यो,’ शाहीले घटना बारे सुनाए, ‘उसले केही खाने इच्छा देखाएपछि मैले केही खानुँ भन्दै खाना खाने पैसा दिएँ । म क्वालालम्पुरको बसतिर जान लाग्दा त्यो केटाले हातमा खानेकुरा बोकेर आयो । उसलाई मलाई पनि खान कर ग¥यो, तर मैले खाइन । उसले आधा खाएर फालिदियो । मैले आफू हतारमा भएकाले हिँड्ने कुरा गरेँ । उसले मसँग केही जरुरी कुरा गर्नुछ भन्दै पानी लिएर आउँछु भनेर हिँड्यो । तर, फर्केन । तर, एकछिनपछि अर्कै मान्छे आएर मलाई एकाएक छुरा देखाउँदै पैसा सबै निकाल्न लगायो । मैले दुई सय रिंगिट (करिब ६ हजार रुपैंया नेपाली) झिकेर दिएँ । अर्को खल्तीमा भएको मोबाइल निकाल्ने समयमा उसले छुरी अलि पर लगेको मौका पारेर मैले उसका हातमा हिर्काएँ । र, छुरा भुईँमा खस्यो । छुरालाई लात्तीले हानेर १०–१५ मिटर पर फालिदिएँ । लुटेर छुरी लिन गएको बेला म भागेँ । नजिकैको चाइनीजको पसलमा गएँ । त्यसपछि एउटा नेपाली होटल पनि भेटियो । उनैसँग गाडी भाडा मागेर घर फर्किएँ । धन्न ज्यान बच्यो ।’
शाहीले नेपालीकै योजनामा आफू लुटिए पनि मृत्युबाट पनि जोगिएको बताए । आफूमाथि लुट्ने योजनाकै साथ बेहोस पार्ने औषधि हालेर खाना खुवाउन खोजिएको हुन सक्ने आशंका गर्दै उनले त्यो नखाएका कारण थप घटना हुनबाट जोगिएको बताए । मलेसियामा वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटेराको आक्रमणमा पटक पटक पर्ने गरेका छन् ।
शाहीमाथि भएको लुटपाटको घटनाको प्रवासी नेपाली मञ्चका सचिव रमेशप्रसाद आचार्यले दुःख व्यक्त गर्दै मलेसियामा रहेका नेपालीको सुरक्षाका लागि नेपाली दूतावासको ध्यानाकर्षण गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment