२७ फागुन, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउन माग बढिरहेकोबेला प्रधानमन्त्री सुशील कोइरालाले तत्काल त्यो सम्भव नहुने बताएका छन् । उनले फाँसीको सजाय नदिने अन्तराष्ट्रिय कानुनमा नेपालले हस्ताक्षर गरेकोले तत्काल असम्भव हुने बताए ।
प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउन गएका अखिल क्रान्तिकारीका नेताहरु
बुधबार विहान एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले बलात्कारीलाई हालकै कानुनमा व्यवस्था भएअनुसार हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता जनाए ।
‘हामीले नयाँ कानुन बनाऊ र बलात्कारीलाई फाँसी देऊ भन्यौं,’ ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री जीले अहिले सम्भव छैन, यसको लागि सदनको सहारा लिनुपर्छ र दलहरुसँग पनि छलफल गर्नुपर्छ भन्नुभयो ।’
बाराकी नाबालिका पुजा साह लगायतलाई बलात्कार गरी हत्या गर्नेहरुलाई फाँसीको सजायको व्यवस्था गर्न चौतर्फी आवाज उठिरहेको छ ।
क्रान्तिकारीका अध्यक्ष मल्लले सदनमा नयाँ कानुनको प्रस्ताव लैजान आफूहरुले आग्रह गरेको र दलीय सहमति जुटाउन आफूहरुले पनि पहल गर्ने बचन दिएको अनलाइनखबरलाई बताए ।
किरिया खर्चसहित क्षतिपूर्ति माग
अखिल क्रान्तिकारीले धादिङको पीडा गाविसमा विषाक्त रोटी खाँदा मृत्यु भएकाको परिवारलाई किरिया खर्च सहित उचित क्षतिपूर्ति दिन माग गरेको छ । उत्पीडित वर्ग, क्षेत्र जाति र समुदायलाई लक्षित गरी खाद्य सुरक्षाको नीति लागु गर्न पनि क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
एसिड आक्रमणकारीलाई कारवाही
क्रान्तिकारीले बसन्तपुरमा एसिड आक्रमणबाट घाइते भएका किशोरीहरुलाई उनीहरु उपचाररत अस्पतालबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन पनि माग गरेको छ । एसिड छ्याप्नेलाई पहिचान गरी कारवाही गर्न पनि माग गरिएको छ ।
यही फागुन १० गते बसन्तपुरमा अज्ञात व्यक्तिले दुई किशोरीलाई एसिड आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान गर्न भने प्रहरी प्रशासनले अझै सकेको छैन ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.