इस्लामिक स्टेट विद्रोहीले आफ्ना एक पाइलटको विभत्स ढंगले हत्या गरे लगत्तै जोर्डनका राजा अब्दुल्लाहले इस्लामिक स्टेट विद्रोहीबिरुद्ध कठोर तथा निर्णायक लडाइ लड्ने प्रतिज्ञा गरेका छन् ।
जोर्डनी एअरफोर्सका पाइलट मुअथ अल कसासबहको हत्या भएपछि जोर्डनका राजा र उच्च अधिकारीहरुबाट कडा प्रतिक्रिया आएको हो । राजा अब्दुल्लाहले ती पाइलटको रगत त्यसै खेर नजाने बताएका छन् ।
कसासबहको हत्या भएपछि बढेको जोर्डनी जनआक्रोशका माझ जोर्डनका राजा र अन्य उच्च अधिकारीहरुले अब जोर्डन इस्लामिक स्टेट सक्रिय रहेको भूमिमा कठोर कारवाहीमा उत्रिने घोषणा गरेका हुन ।
जोर्डनी सञ्चार मन्त्री मोहम्मद अल मोमानीले आईएसविरुद्ध सेना र सुरक्षा निकायहरुले नयाँ रणनीति बनाउने बताए । जोर्डनले आफ्ना पाइलटको हत्याप्रतिको प्रतिक्रिया अत्यन्त स्पष्ट हुने बताएको छ ।
उसले आफ्नो सेना र सुरक्षा निकायहरुले नयाँ चुनौतिको सामना गर्न नयाँ रणनीति बनाउने बताउँदै जोर्डनको प्रतिक्रियालाई सारा विश्वले सुन्ने बताएको छ ।
त्यसअघि जोर्डनले हत्याको प्रतिक्रिया स्वरुप थुनामा रहेका दुई जिहादीलाई मृत्युदण्ड दिएको थियो र ती मध्ये एकजना इस्लामिक स्टेटले रिहाइको माग गरिरहेकी साजिदा अल रिशावी थिइन् ।
Post a Comment