मेहेनतले अघि बढेका, भाग्यले डोर्‍याएका कान्छा सिइओ

केटा मान्छेलाई तलब नसोध्नु भन्ने जान्दा जान्दै पनि सोधें, ‘सिइओ बनेपछि मासिक तलब कति हुन्छ?‘ उनी एकछिन मजाले हाँसे। र, भने, ‘तलबमात्र महिनाको ६ लाख छ।‘ प्रभु बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन २० वर्षअघि नेपाल बंगलादेश बैंकमा जुनिएर असिस्टेन्टको जागिरे छँदा महिनाको ४ हजार ३ सय तलब थाप्थे। जुन उनलाई हालको ६ लाख भन्दा कैयौं गुणा महत्वपूर्ण लाग्छ।

बितेका २० वर्षमा उनको तलबमात्र बढेको छैन्, जिम्मेवारी र दायित्वले पनि उत्तिकै थिचेको छ। ४२ वर्षको उमेरमा अहिले उनी नेपालका वाणिज्य बैंकमा सबैभन्दा कान्छा सिइओ बनेका छन्। कान्छा सिइओको जिम्मेवारी भने देशमै सबैभन्दा ठूलो नेटवर्क भएको बैंक चलाउनु छ।


३ अर्ब २० करोड ८५ लाख कुल पूँजी भएको प्रभु बैंकका मुक्तिनाथदेखि दैलेखसम्म डिजिटल प्रविधिमा काम गर्ने १ सय १२ ओटा शाखा छन्। १ सय ८ एटिएम छन्। साढे ६ लाख ग्राहकलाई बैंकिङ सेवा दिने ११ सय कर्मचारी छन्।

यी सबैलाई नेतृत्व दिने सिइओको कुर्सीमा पुग्न शेरचनलाई सञ्चालक समितिले एउटा चुनौती दियो। उनले सहर्ष स्वीकार गरे, र पार गरे।

२०७१ साल भदौ ३० गते किष्ट बैंकसहित प्रभु फाइनान्स, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स मिलेर प्रभु बैंक बन्दा बैंक घाटामा थियो। त्यसै त किष्ट बैंकका तत्कालीन सञ्चालक समितिका सदस्यलाई बैंकिङ कसुरीको अभियोग लागेको थियो।

त्यस्तो बेला प्रभु ग्रुपले किष्ट बैंक किन्ने निर्णय गर्‍यो। त्यो निर्णय आफैंमा जोखिमपूर्ण थियो।

कारोबार सुरू गरेको दुई महिना नबित्दै कात्तिकमा तत्कालीन सिइओ कुमार लम्सालले राजिनामा दिए। निमित्तको जिम्मेवारी शेरचनलाई दिइयो। बैंकको खराब कर्जा असुली कम गर्न र ४० करोड खुद नाफा कमाउन सके उनैलाई सिइओ बनाउने शर्त सञ्चालक समितिले राख्यो।

शेरचन निमित्त सिइओ भएदेखि नै कस्सिए। ८१ करोड भन्दा बढीको खराब कर्जा असुली गरे। अनि चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद नाफा ५४ करोड पुर्‍याए।

सञ्चालक समितिले आफ्नो बाचा पूरा गर्‍यो। माघ १८ गते उनलाई सिइओ नियुक्त गरियो। आफ्नै मेहनतले प्रतिस्पर्धात्मक बैंकिंङ दुनियाँमा शेरचन सबैभन्दा सानो उमेरका सीइओ बने।

२० वर्ष अघिको जुनियर असिस्टेन्टबाट बैंकिङ पेशा अंगालेका शेरचनलाई सिइओ हुँदा खुसी भन्दा जिम्मेवारी बढेको महसुस भयो। ‘त्यतिबेला जिम्मेवारी कम हुन्थ्यो, आफै काम गरिन्थ्यो, अहिले काम अरुले गरेपनि जिम्मेवारी सबै आफैले लिनुपर्छ‘, शेरचनले भने, ‘सिइओ हुँदा खुसीभन्दा बढी जिम्मेवारी कसरी निभाउने भन्ने सोचमा डुबें।'

त्यसो त बैंकिङ उनको सपनाको पेशा होइन। बाग्लुङको गाउँमा एसएलसी दिनेबेलासम्म उनले डाक्टर बन्ने लक्ष्य बोकेका थिए।

डाक्टर बन्ने सपना एसएलसीसँगै सकियो। काठमाडौंमा उनी खासै लक्ष्य नलिइकनै आइकम पढन थाले। शंकरदेव क्याम्पसमा बीकम पढ्दा पढदै नजिकैको नेपाल बंगलादेश बैंकमा जागिर खुलेको थियो। उनी घर गएका बेला एकजना साथीले फर्म भरिदिए। उनी आएर अन्तर्वार्ता दिए। जागिरका लागि छानिए र बिना योजना बैंकिङ करिअर सुरू गरे। सबै खुडकिला पार गर्दै सिइओको कुर्सीमा पुगे। ‘तर, सिइओ बन्ने मेरो लक्ष्य र सपना थिएन, यहाँ त मलाई भाग्यले डोहोर्‍याएको हो‘, शेरचन भन्छन्।

भाग्यले डोहोर्‍याएको सिइओको पद उनका लागि चूनौतिरहित भने छैन। मर्जरको लामो झन्झट झेल्नुभन्दा बैंक किन्नु नै उपयुक्त हुने विचार गरी प्रभु ग्रुपले किष्ट बैंक किनेको हो। सञ्चालक समितिका सदस्यहरुलेनै बैइमानी गरेको किष्ट बैंकको बिग्रिएको छवि सुधार्नु नै उनको पहिलो चुनौती हो। ‘सबैभन्दा पहिला प्रभु बैंकमा ग्राहकले राखेको पैसा सुरक्षित छ भन्ने विश्वास दिलाउदै छौं‘, शेरचनले भने।

फरक फरक संस्थामा काम गरेका कर्मचारीलाई एकताबद्ध बनाउनु अर्को चूनौति भएको शेरचन बताउँछन्। प्रतिष्पर्धामा अरुभन्दा अब्बल हुनु र मुनाफा कमाउनु त सबै बैंकका सिइओका साझा चुनौति हुन्।

सिइओको कुर्सीमा बस्न सिर्जनशीलता, आत्मविश्वास, सहि समयमा सहि निर्णय गर्ने क्षमता, परिस्थिति अनुसार आफूलाई बदल्ने हिम्मत चाहिने शेरचन बताउँछन। यी सबै गुण भए सबैले खोज्ने ‘रिजल्ट‘ निकाल्न सक्ने सफल सिइओ भइने शेरचनको बुझाई छ।

अनामनगरस्थित प्रभु बैंकको भवनभित्र उत्तरतिरका हिमश्रृंङखला देखिने उनको कोठामा मुस्ताङ र बाग्लुङका केही तस्वीरहरु झुण्ड्याइएका छन्। ती प्रोटेट र हिमालको दृश्यले उनलाई मानसिक शान्ति दिन्छ रे। त्यही शान्तिपूर्ण वातावरणमा सबैभन्दा ठूलो नेटवर्क भएको बैंकको सफल सिइओ बन्ने चुनौतिले उनलाई नियालिरहेको छ।

सिइओ बनाउने उनको ‘भाग्य‘ले उनलाई सफल सिइओ बनाउन डोहोर्‍याउँछ कि डोहोर्‍याउँदैन भविष्यकै गर्भमा छ। ‘तर, सिइओ बनेको हप्ता दिन भयो बैक हाँक्ने हिम्मत भने अवश्य जुटेको छ,‘ शेरचनले भने। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget