ऐना पुछेर के गर्नु कमरेड? यहाँ त अनुहार पो पुछ्नु छ

'खाउला भनेको ढिँडो जबरजस्ती खाएर हिँडेका प्रचण्ड, वैद्य, विप्लवजी ति थालहरु यहाँले खाएको दिनदेखि यता सधै रित्तै छन्। कारण–थाल भर्नेहरू यहाँसँगै निस्किएका फर्किआएका छैनन्।'

माओवादी, जनयुद्द, द्वन्द्वपीडित, पर्यटन, पूनरनिर्माण, सहिद, घाईते, अपाङ्ग, टुहुरा, एकल–महिला, विस्थापित, अङ्गभङ्ग आदिका नाम–शब्द भजाएर सदुपयोगका नाममा दुरूपयोग गरिएका रकमको ५० प्रतिशत मात्र सुद्द मनले सहि प्रयोग भएको भए रोल्पा आज हिजोको रोल्पा नभएर भोलिको रोल्पा हुन्थ्यो। नजीकबाट रोल्पा पढ्नेले यस्तो सहजै भन्न सक्छ।

गाविस परिषद, ईलाका परिषद हुँदै जिल्ला परिषदबाट पास भएका योजना बाहेकका अन्य ठाउँमा बजेट राख्न पाईदैन। राज्यकै नियम परिधि भित्र छ यो कुरा। तर, भनसुन, चिनजान र टेबुलमुनिको खेल के–के हो के–केले करोडौ रकम शान्ति मन्त्रालयका नाममा भित्रिरहेको तथ्याङ्क जिल्ला विकास समितिको अर्काे अंग जिल्ला प्राविधिक कार्यालयका मोटा ढड्डामा छ।

स्वास्थ्य 'मौलीक हक'–नेपालीको। दुर्भाग्य त्यो हक रोल्पामा आउनै मान्दैन। २१ औँ सताब्धिको रोल्पाली स्वास्थ्य–एक मात्र अस्पताल त्यो पनि १५ सैयाको। एक्सरे छ। तर, फोटो खिच्दा कालो मात्र आउँछ। आईहाल्यो भने हेर्ने कसले हो? उत्तर अस्पतालसँग पनि छैन।

भिडियो एक्सरे त झन इतिहासको कथा मात्र हो। अलि हिड्न सक्यो भने दाङमा हुन्छ रे, सुनेको कुरा। डाक्टर भेटिन त भेटिन्छ तर पढाई सकाएर २ वर्ष अनिर्वाय दुर्गम सेवाका नाममा जवरजस्ती पढाईएका सिप विकासका लागि।

पढाई भनेको के? स्कूल जानु–उत्तर।

जाने कसरी? २/४ भाई–बहिनी भएसम्म आलो पालो नभए र्फुसद मिलाएर। कारण–स्कूल टाढा। धारायसी काम। गरिबि।

पढेर के हुन्छ? के–के हो के–के।

अर्काेतिर मावि स्कूल प्रअ एसएलसी पास। त्यो पनि स्कूल बसाई आलो–पालो।

'म यस्तो विद्यार्थी हो जसले एसएलसी पास त गरेँ। तर, मलाई एसएलसी पास गराउने सर आफैले एसएलसी पास गर्न सकेनन,' एकजनाले तालिमको सहजीकरण गर्दा भनेका थिए।

त्यै पनि जिल्ला चलिहरेको छ। कसैले नचलाए पनि आफै वर–पर गर्दै।

कर्मचारी आफ्नो गतिमा। 'रोल्पा सरुवा भएर आउँदा गह्रौ मनका साथ भित्रिने निजामति सेवाका मित्रहरु फर्किँदा चिल्ला चाप्ला भएको इतिहास होईन वर्तमान पनि त्यस्तै छ।'

एउटा समाचार थियो, 'एक महिनामा कसैले ४२ दिनको टिए डिए लुडकाएछ।' तर त्यता लोकमान सिंहको आखा परेन वा क्षेत्रलाई दिएको निर्देशन त्यतैबाट कुरा मिल्यो। के भो केही बाहिर आएन। जे होस भित्रभित्रै भए पनि कुरा मिल्यो। तै चुप मै चुप। समाचार लेख्नेहरु सबैका आँखी मात्र।

विकास–
२९ वर्ष भयो अस्पताल भवन बनेको। हस्तान्तरण भएको छैन। जिविसले वर्थिङ सेन्टर बनाउँछ तर, कोठाभित्रको चर्पी अनि त्यससको मल–मूत्र जाने सेफ्टी ट्याङकी नै छैन। बाटो खनिएको छ। तर, वर्षमा ६ महिना पनि गाडी चल्दैन।

सदरमुकामसम्मको कालोपत्रे गरेको भर्खरै हो फोटो खिच्न पनि लाज लाग्छ। फोटो खिचेर के गर्ने? समाचार लेख्ने। लेखेर के हुन्छ? अलि माथिको निकायलाई फाईदा। उसले सकेन भने अख्तियारलाई पक्का। जिल्लामा बनेका ९० प्रतिशत भवन वर्ष दिनमा पानी नचुहेे–बिद्यानास। बाँकि १० प्रतिशतको भित्ता चर्किएन भने त प्राविधिकको इज्जत खेर जान्छ। उसको रहेनछ भने ठेकेदारको त नाक नै काटीन्छ।

कृषिप्रधान देशको रोल्पाली कृषि सुन्दै अपत्यारीलो। प्रचार–प्रसारमा लाखौ रकम छ। तर, योजनाका बारेमा जनतालाई थाहै छैन। 'रोल्पालीले मतलबै गर्दैनन। थाहै पाउदैनन।' गाउँका खेतवारी बाझै। अलि अलि गरिने परम्परागत। वार्षिक कृilमा खर्च गरिने करोडौ बजेट कहाँ नेर खर्च गरियो र प्रगति के भयो? सरोकारवालाले तथ्याङ्क देखाउन सक्दैन, कारण केहि भएको छैन।

पशु विकासको पनि दशा उहि। दैनिक 'सेता–चरा' जिल्ला भित्रिन्छन् कता कताबाट। तरकारी भित्रिदाँ चाउरीएका मात्र भेटिन्छन। के गर्नु उनीहरुलाई पनि सयौ किलोमिटर दैडिनु पर्छ।

२०१२ सालमा जन्मिएको कान्छो जिल्ला। तै पनि धेरै 'सुपुत्र र कुपुत्र' जन्मायो। २०१५ सालका एम पि खडानन्द सुवेदी। त्यसपछिका हस्ती बालाराम  घर्तिमगर। जो दसकौ मुलुकको शक्त्तिशाली मन्त्रालयको मन्त्री बनीरहे। यदा कदा रेगवहादुर सुवेदी।

बहुदल पछिका सुरेन्द्र हमाल। तेस्रो पटकसम्म मन्त्रीकै जिम्मेवारीमा पुगे। भएन रोल्पाली चेली भीमकुमारी बुढा पनि कतिवेला मन्त्री नै बनिन्।

समय विकास क्रममा 'गणतन्त्र'। शक्त्तिशाली ठाउँमा शक्त्तिशाली मन्त्री बने कृष्णबहादुर महरा र वर्षमन पुुन। मुलुकको उपप्रधान, गृहमन्त्री महरा र अर्थ मन्त्री पुन रोल्पाको मात्र नभएर देशकै गहनाका रुपमा रहे।

भएन या पुगेन ओनसरी घर्ति, जयपुरी घर्तिले पनि मन्त्रालय बस्ने अवसर पाए मन्त्री भएर। अझै पुगेन सायद ओनसरी फेरि उक्लीइन संविधान सभाकै उपाध्यक्ष भएर।

पदहरुको विचमा 'रोल्पा र रोल्पालीले के पाए?' जो पाउनु उसको अधिकार थियो। 'हातलाग्यो शून्य'।

प्रचण्डको भाषण 'रोल्पाली महान छन्। विवेकसिल छन। उनीहरूलाई अन्याय के हो थाहा छ। क्रान्ती बुझेका छन्।' के त्यसो भए चितवनकालाई केहि पनि थाहा नभएको हो?

रोल्पाली सधै भर्‍याङ मात्र बन्ने सत्ताको? होईन भने खोई द्वन्द्वमा एक दशक भिजेका रोल्पालीको रगत र पसिना पुछेको? ऐना पुछेर के गर्नु कमरेड यहाँ त अनुहार पो पुछ्नु छ।

'बासको झाडीमा पात गन्न बस्यो भने कुनै दिन सकिन्छ होला तर, हाम्रा पिडा गन्न गाह्रो छ हजुर।' क्यामरा समातेको पत्रकार (म) लाई खुट्टा गुमाएकी एउटी बहिनिले भनेको झलझली सम्झीन्छु।

हिजो रोल्पा बसेर नयाँ नेपाल बनाउन राजनीति गर्छौ भन्नेहरु हिजो आज काठमाडौं बसेर रोल्पा बेच्दैछन् रोल्पाली गुनासो गर्छन्। आफ्नो गास काटेर पेटभरी खाना खुवाएको रोल्पा दीर्घ रोगी बनेर थलिएको छ। तर, हेर्ने फुर्सद कसैलाई छैन।

लिवाङ सदरमुकाम हो रत यहाँको स्थिति यस्तो छ। थवाङ, जिनावाङ, ईरिवाङ, भावाङ, जेदवाङ जस्ता वाङहरुको अवस्था के होला? हिजो जनताले खाउँला भनेको ढिडो जवरजस्ती खाएर हिँडेका प्रचण्ड, वैद्य, विप्लवजी ति थालहरू यहाँले खाएको दिनदेखि सधै रित्तै छन्। कारण ति थाल भर्नेहरू यहाँसगै निस्केका फर्किआएका छैनन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget