नाकाबन्दीका कारण व्यवसायीले २२ लाख चल्ला पुरे

भारतको अघोषित नाकाबन्दीका कारण कुखुरापालक किसानले उत्पादित चल्ला पुर्न थालेका छन् । यहाँ अण्डा उत्पादनमा ठूलो मात्रामा कमी आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ ।

नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग धरासायी अवस्थामा पुगेको बताए । यस क्षेत्रमा भएको ६० अर्बभन्दा बढी लगानी जोखिम अवस्थामा पुग्ने चिन्ता बढेको उनको भनाइ छ ।

किसानले ब्वायलर चल्ला राख्न छाडेपछि ह्याचरी उद्योगीले चल्ला खाल्डोमा पुर्न थालेका हुन् । उत्पादित चल्ला किसानसम्म पुर्‍याउन इन्धन नहुनु, बुडिङ्का लागि किसानले ग्यास र तेल नपाउनु र दानाको अभावका कारण चल्ला नबिकेपछि दसैँपछि निस्किएको डवल ह्याच चल्ला पुर्न बाध्य भएको ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले बताए ।

ह्याचरी उद्योगले आइतबार र बुधबार हप्ताको दुई दिन चल्ला निकाल्ने गर्दछन् । बुधबार दसैँ परेकाले आइतबार डबल ह्याच एकै पटक निकालिएको थियो । देशभरका ह्याचरीले आइतबार निकालेको २२ लाख चल्ला खाल्डो खनेर पुर्न बाध्य भएको ह्याचरी उद्योग सङ्घका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले बताए।

यसअघि चल्ला प्रतिगोटा ५५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । यो हिसाबले १२ करोड १० लाख रुपैयाँ बराबरको चल्ला आइतबार मात्र नोक्सान भएको पौडेलले बताए। उनले भने, “मेरो सुलभ ह्याचरीको मात्र २२ हजार चल्ला पुर्नु पर्‍यो । यसबाट १२ लाख १० हजार एकै दिनमा नोक्सान भएको छ । चल्ला पुर्दा अप्ठ्यारो हुने भएपछि व्यवसायीले १८ दिन अण्डा सेटरमा राख्ने तर चल्ला निकाल्न ह्याचरमा नराखी अण्डा नै नष्ट गर्ने तयारी गरेका छन् । ह्याचरी मेसिनमा अण्डा राखेको २१ दिनमा चल्ला निस्कन्छ ।

नेपालमा १ सय ६२ वटा ह्याचरी उद्योग रहेका छन् । ह्याचरी मेसिनलाई चौबिसै घन्टा सञ्चालन गर्नुपर्ने हुन्छ । विद्युत्भार कटौतीको समयमा कालोबजारीमा महँगो मूल्यमा तेल किनेर मेसिन सञ्चालन गर्नुपर्ने र चल्ला गाड्नुपर्ने अवस्थाले व्यवसायलाई धरासायी बनाउँदै लगेको उनीहरुको गुनासो छ ।

यता इन्धन अभावका कारण कुखुरालाई दाना कम खुवाउन थालेपछि अण्डा उत्पादनमा भारी कमी आएको छ । नेपालभर दैनिक पाँच हजार पेटीको हाराहारीमा अण्डा उत्पादन हुने गरेकामा हाल दैनिक तीन हजार २ सय पेटीमा झरेको छ । दाना नपाएपछि किसानले कुखुरालाई आधा पेट दाना खुवाएका छन् । कतिपयले कुखुरै बेचेका छन् भने कोहीले कम गुणस्तरको दाना खुवाउन बाध्य भएका छन् । कच्चापदार्थ भारतबाट नआएपछि गुणस्तरीय दाना बन्न सकेको छैन ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले इन्धन अभावका कारण देखिएको समस्याले अण्डा उत्पादक कृषकलाई निरास बनाउँदै व्यवसाय धरासायीतर्फ धकलेको बताए। हाल महँगो मूल्यमा भए पनि इन्धन खरिद गरेर नपुगेको स्थानमा अण्डा पु¥याउने कार्य सुरु गरिएको उनले बताए । यसका लागि ठूलो अण्डाको बिक्री मूल्य २ सय ५५ रुपैयाँ  र सानो अण्डाको बिक्री मूल्य २ सय १५ रुपैयाँ प्रतिक्रेट तय गरिएको पनि केसीले बताए।

इन्धन अभावका कारण ढुवानी प्रभावित भएपछि यसअघि ठूलो अण्डा २ सय १० रुपैयाँ  र सानो अण्डा १ सय ८० रुपैयाँ प्रतिक्रेटसम्ममा बिक्री गर्न किसान बाध्य भएका थिए ।

नाकाबन्दीका कारण कुखुराको मासुको बिक्री पनि प्रभावित बनेको छ । दैनिक पाँच लाख किलो बिक्री  हुँदै आएकामा हाल तीन लाख किलोको हाराहारीमा मात्र बिक्री हुन थालेको मञ्चका अध्यक्ष कँडेलले बताए । इन्धन र ग्यासको समस्याका कारण होटल बन्द छन् भने पर्यटकको आगमन शून्य छ ।

ग्यास अभावले घरायसी प्रयोजनमा पनि मासुको प्रयोगमा कमी आएको छ । बिक्री गर्नेहरुले इन्धनको अभावमा ढुवानी गर्न सकेका छैनन् भने ग्यास नहुँदा सरसफाइ प्रभावित भएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget