ग्यासमा भारतको रणनीति : तराईलाई कोटाभन्दा बढी, काठमाडौँलाई छैन


विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौंँ :  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले खाना पकाउने ग्यासको लोडिङमा समेत विशेष रणनीति अख्तियार गर्दै काठमाडौं लगायतका क्षेत्रका बोटलिङ प्लान्टलाई नदिई तराईलाई मात्र दिन थालेको छ।

भारत सरकारको निर्देशनमा आइओसीले तराईमा रहेका  बोटलिङ प्लान्टलाई भने मागभन्दा पनि बढी ग्यास दिएको छ तर काठमाडौं, पोखरा, धादिङमा रहेका बोटलिङ प्लान्टलाई भने ग्यास लोडिङ नै दिएको छैन।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार तराईका सबै बोटलिङ प्लान्टले आफ्नो कोटा भन्दा बढी ग्यास पाइसकेका छन्।

‘तराईका अधिकांश बोटलिङ प्लान्टले कोटा भन्दा बढी ग्यास ल्याइसकेका छन्, उनले पहिलोपोस्टसँग भने, ‘तर काठमाडौंका कुनै पनि प्लान्टलाई ग्यास नै लोडिङ गरेको छैन।’ घिमिरेका तराईमा रहेका दुईवटा प्लान्टले कोटा अनुसार ग्यास उठाइसकेको छ।

स्रोतका अनुसार भारतको केन्द्र सरकारको निर्देशनमा तराईमा मात्रै ग्यास दिइएको हो। सिद्धार्थ ग्यासको तराई र धादिङमा दुईवटा प्लान्ट छ। सिद्धार्थले तराईमा दिएको ग्यास धादिङमा भरेर काठमाडौंमा बिक्री गरेको थियो।

नाकाबन्दीपछि तराईमा रहेको सिद्धार्थ ग्यासले दुई बुलेट ग्यास ल्याएको थियो। बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासले भेरी ग्यास उद्योगको ल्याएर यहाँका उपभोक्तालाई दिएको थियो।

रक्सौल नाका ठप्प भएपछि ग्यास उद्योगीले सुनवल नाकाबाट ग्यास ल्याउन खरीद आदेश (पिडिओ) बनाएर बुलेट पठाएका थिए । तर काठमाडौ, पोखरा र धादिङमा बोटलिङ प्लान्ट भएका उद्योगीले आयल निगमबाट बनाएको पिडिओ लिएर बरौनी, मथुराबाट ग्यास ल्याउने प्रयास गरेका थिए। तर ती पिडिओ लिएर गएका ग्यास उद्योगीलाई अनेक बहानामा रोक्ने काम गरेको व्यवसायीहरुले बताएका छन्।

संघका पूर्व अध्यक्ष सावरमल अग्रवालका अनुसार काठमाडौं, पोखरा र धादिङमा रहेका प्लान्टका उद्योगको ग्यास लोडिङ गरेपछि राजस्व तिर्न रक्सौल नै जानुपर्ने प्रावधान रहेको आइओसीका अधिकारीहरुले बताएका छन्।

‘रक्सौलबाट ग्यास ल्याउनेहरुको यहाँ सिस्टम छैन। यहाँ सिस्टम खोल्नेबितिकै रक्सौल देखाउँछ। त्यसैले तपाईहरु रक्सौलमा गएर राजस्व तिर्नुपर्छ भनेर हामीलाई रोक्ने काम भइरहेको छ,’ उनले भने, ‘उनीहरुले विभिन्न बहाना बनाएर ग्यास ल्याउन रोकिरहेका छन्।’

मुलुकभर ५३ वटा ग्यास बोटलिङ प्लान्ट छन्। यो मध्ये २६ वटा प्लान्ट काठमाडौं क्षेत्रमा आधारित रहेका छन्। बाँकी तराईमा रहेका छन्।

ग्यासको सबैभन्दा बढी खपत काठमाडौं, ललितपुर, भक्तपुरमा हुन्छ। सस्तो र सफा इन्धन भएकोले ग्यासको माग वर्षेनी बढ्दो क्रममा रहेको थियो।

अहिले ग्यासको माग मासिक २८ हजार टन छ । तराईमा मात्रै ग्यास दिएपछि कतिपय उद्योगले काठमाडौंमा केन्द्रित प्लान्टमा ग्यास बिक्री समेत गरेका छन्। काठमाडौंका प्लान्टलाई ग्यास दिन रोकेपछि तराईको कोटा काठमाडौं डाइभर्ट गर्न आयल निगमले उद्योगीलाई निर्देशन दिएको छ।

स्रोतका अनुसार जतिसक्दो चाँडो ती ग्यास काठमाडौंका प्लान्टलाई दिएर अभाव हटाउन निर्देशन दिएको छ । यो निर्देशन अनुसार कतिपय उद्योगीले काठमाडौं ग्यास ल्याउने प्रक्रिया अघि समेत बढाएका छन् । तर काठमाडौंमा थोरै ग्यास ल्याउँदा बाँड्न समस्या हुने भन्दै उद्योगीहरु ल्याउन समेत डराइरहेका छन् ।

‘थोरै ग्यास ल्याएर बाँड्न सकिने अवस्था छैन । चुनौती छ भनेर अभाव टुलुटुलु हेर्न पनि सकिदैन,’ राजधानी ग्यासका संचालक विष्णु ज्ञवालीले भने, ‘जसरी भएपनि ग्यास ल्याएर बाँड्नुपर्ने अवस्था छ ।’
आधा सिलिन्डर बिक्री गर्न पाउने

ग्यासको हाहाकार हटाउन आयल निगमले ७ किलो १ सय ग्रामको ग्यास बिक्रीका लागि अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघको अनुरोधमा निगमले केही दिनअघि १४ किलो दुई सय ग्रामको आधा बिक्री गर्न दिन अनुमति दिएको हो।

एक बुलेट ग्यास आउँदा १२ सय ५० सिलिन्डरमा मात्रै हुने र वितरण गर्न समस्या हुने भन्दै संघले पाँच किलो भरेर बिक्रीको लागि अनुमति दिन अनुरोध गरेको थियो । तर निगमले पाँच किलोको ग्यास बिक्री गर्दा ढुवानी लगायत लगायतका समस्याले नसकिने भन्दै आधा सिलिन्डर ग्यास बिक्रीका लागि अनुमति दिएको हो।.pahilopost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget