जिका संक्रमित ४० लाख
माघ १५, २०७२- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जिका भाइरसको विस्फोटक विस्तार हुन थालेपछि एउटा आपत्कालीन टिम खडा गरेको छ । डब्लूएचओले अमेरिकी महाद्विपीय क्षेत्रमा मात्र ४० लाखवटा जिका संक्रमणका घटना भएको अनुमान लगाएको छ । डब्लूएचओकी महानिर्देशक डा. मार्गरेट चानले जिका अब एकदमै भयावह अवस्थामा पुगेको बताएकी छन् ।
डब्लूएचओ आपत्कालीन टिमले जिकालाई विश्वव्यापी संकट घोषणा गर्ने विषयमा सोमबार छलफल गर्ने भएको छ । यसअघि पश्चिमी अफ्रिकामा फैलर ११ हजारजनाको ज्यान लिएको इबोलालाई विश्वव्यापी संकट भनिएको थियो ।
जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगान्डामा देखा परेको हो । तर अहिलेसम्म यसले यो हदसम्म नोक्सानी गरेको थिएन । ब्राजिलले गत वर्षको मेमा जिका संक्रमणबारे जानकारी दिएको थियो । धेरैजसो संक्रमणमा लक्षण नै नदेखिनु र परीक्षण गर्दा पनि देखा नपर्नु यो भाइरसको एकदमै अप्ठेरो पक्ष हो । ब्राजिलमा मात्र अहिले १५ लाख यसबाट प्रभावित छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस अहिले अमेरिकी क्षेत्रका २० भन्दा बढी देशमा फैलिसकेको छ ।
यसैबीच, यही संक्रमणका कारण मस्तिष्क अत्यन्तै सानो भएको बच्चा जन्मने क्रम बढेको आशंकासमेत छ । डा. चानले उक्त संक्रमण र त्यस्तो समस्याबीच नजिकको सम्बन्ध रहेको शंका रहेको बताइन् । डा. चानले यसपटकको अल निनो परिघटनाका कारण अमेरिकी महाद्विपीय क्षेत्रका धेरै ठाउँमा लामखुट्टेको प्रकोप बढ्ने सम्भावना रहेको, त्यसले जिकाको समस्या कायम हुने बताइन् ।
Post a Comment