यस्तो बन्दैछ कलंकी–त्रिपुरेश्वर सडक

यस्तो बन्दैछ कलंकी–त्रिपुरेश्वर सडक
काठमाडौं-उपत्यकाको सर्वाधिक सवारी चाप हुने सडकका रुपमा चिनिएको त्रिपुरेश्वर–कालिमाटी–कलंकी सडक विस्तार सुरु भएको छ । कालिमाटी–सोल्टीमोड खण्डमा भने स्थानीय अवरोध देखिएको छ।


काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले राजधानी भित्रिने प्रमुख नाका कलंकीबाट त्रिपुरेश्वरसम्मको ३.४ किमी सडक ६ लेन बनाउने काम अगाडि बढाएको हो । आयोजनाले मापदण्डअनुसार उक्त खण्डमा २२ मिटर फराक सडक बनाउने काम सुरु गरिसकेको छ ।

त्रिपुरेश्वरबाट प्रारम्भिक निर्माणका काम अगाडि बढाए पनि उक्त खण्डमा पर्ने कालिमाटी पुलदेखि सोल्टीमोडसम्मको खण्डमा भने मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काउन चिह्नसमेत लगाइएको छैन । मिचिएका संरचना भत्काउन चिह्न लगाउने काम काठमाडौं विकास प्राधिकरणको हो ।

त्रिपुरेश्वर–कालिमाटी र सोल्टीमोड–कंलकी सडक मापदण्डअनुसार चिह्न लगाएको प्राधिकरणले उक्त खण्डको मध्यभागमा पर्ने कालिमाटी–सोल्टीमोडमा चिह्न नलगाउनुमा स्थानीयको अवरोधसँगै तत्कालीन सहरी विकासमन्त्री नारायण खड्का र कांग्रेसका सांसद नवीन्द्रराज जोशीको दबाब रहेको बताइन्छ । उक्त क्षेत्रको लम्बाइ करिब एक किलोमिटर छ ।

प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले उक्त खण्डमा चिह्न लगाउने तयारी भइरहेको बताए । 'नियमअनुसार उक्त खण्डमा २२ मिटर सडक विस्तारका लागि चिह्न लगाउने काम अगाडि बढाइनेछ,' उनले भने, 'कसैलाई चित्त बुझ्दैन भने अदालत जान सक्छन् । हामी अदालतको आदेशअनुसार काम गर्नेछौं ।' उनले २०३३ सालको मापदण्डअनुसार उक्त खण्डमा २५ मिटरको सडक बनाइनुपर्नेमा हाललाई २२ मिटर मात्र बनाउन लागिएको बताए ।

सडक निर्माणको जिम्मेवारी पाएको आयोजनाले प्राधिकरणले चिह्न लगाएलगत्तै उक्त खण्डमा निर्माणका काम अगाडि बढाउने तयारी गरेको छ । आयोजना प्रमुख मनोज श्रेष्ठका अनुसार त्रिपुरेश्वरदेखि टेकु पुलसम्म मापदण्डअनुसार भत्काइएका संरचना खाली गर्दै डिमार्केसन पर्खाल लगाउने काम भइरहेको छ ।

'हाल चार लेन रहेको उक्त सडक विस्तार गरी ६ लेन बनाउने काम अगाडि बढिसकेको छ,' उनले भने, 'कालिमाटी सोल्टीमोडको समस्या हल हुनेवित्तिकै सबैतिर एकै रफ्तारमा काम अगाडी बढ्ने छ ।' उनले विस्तारपछि त्रिपुरेश्वर–कलंकी सडकमा १८ मिटर चौडाको ६ लेन सडकसहित दायाँबायाँ २÷२ मिटरका फुटपाथ समेत हुने बताए ।

आयोजनाले उक्त खण्डको निर्माणको जिम्मा बज्रगुरु–बिरुवा–सिएम नामका कम्पनीलाई दिएको छ । तीन वटा निर्माण कम्पनीले संयुक्त रुपमा उक्त सडक निर्माणका लागि ठेक्का हालेका हुन् । सडक निर्माणको काम ०७४ कात्र्तिकमा सकिने छ । विस्तारित सडक निर्माणपछि उक्त सडकमा हुँदै आएको घन्टौं लामो जामको समस्या समाधान हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

आयोजनाले त्रिपुरेश्वर–कालीमाटी खण्डसँगै एउटै प्याकेजमा कलंकीदेखि नागढुंगासम्मको सडक विस्तार गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी दुई वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाएको आयोजनाले हाल ७.५ मिटर फराकिलो दुई लेनको कलंकी–नागढुंगा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको हो । चार लेनको उक्त सडकको बीचमा दुई मिटर फराकिलो 'ग्रिनबेल्ट' (हरियाली स्थान) हुनेछ । सडकको दुवैतर्फ १.२ मिटर फराकिलो साइकल लेन हुनेछ । सडककै लेभलमा बनाइने साइकल लेनमा माइतीघर–तीनकुने खण्डको जस्तो भौतिक संरचना छुट्टै भने हुँदैन । अपांगमैत्री फराकिलो फुटपाथसमेत हुनेछ । सडकका प्रत्येक लेन अन्य स्थानका भन्दा केही फराक चार मिटरका हुनेछन् ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार फुटपाथका बीचमा दृष्टिविहीनहरुले हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटरसमेत राखिनेछ । ९.१ किलोमिटर लामो उक्त सडक निर्माणका लागि विभिन्न तीन खण्डमा ठेक्कामा लगाइएको छ । आयोजनाका अनुसार उक्त खण्डको सडक निर्माणको जिम्मा शर्मा–सैलुङ–कान्छारामलाई दुई खण्ड र लुम्बिनी–सैलुङ–एसएपीलाई एक खण्ड निर्माणको ठेक्का दिइएको छ ।

सबै सडक निर्माणको काम बढीमा ३० महिनाभित्र सकिनेछन् । तर, उक्त खण्डमा समेत स्थानीयले अवरोध गर्दै आएकाले काममा समस्या परिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाले त्रिपुरेश्वरदेखि कलंकीसम्मको सवारी चाप अत्यधिक हुने भएकाले उक्त खण्डमा ६ लेनको सडक र नागढुंगातर्फ भने चाप कम हुने भएकाले ४ लेन बनाउन लागिएको हो । त्रिपुरेश्वर खण्डमा सडकको लेन बढी हुने भएकाले कलंकी–नागढुंगामा जस्तो सडकको बीचमा ग्रिनबेल्ट नबनाइने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुंगासम्मको कुल १२ किलोमिटर सडकलाई एकैपटक राजमार्गका रुपमा २२ मिटर फराकिलो बनाउने कार्ययोजना बनाएको हो ।nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget