पाँच बर्षअघिसम्म सामान्य संगठनकोरुपमा रहेको इस्लामिक स्टेट फ्रान्स आक्रमणसम्म आईपुग्दा दूनियाँलाई आतंकित पार्ने संगठनकोरुपमा चित्रित हुन् पुग्यो । अमेरिकी सुरक्षा एजेन्सीहरुलेसमेत आफ्ना प्रतिवेदनहरुमा चुनौतीपूर्ण तर कम खतरनाक भनि वताउँदै आएको आईएस कसरी विश्वको सुरक्षा चुनौतीकोरुपमा देखिन पुग्यो भन्नेवारे यतिखेर विश्वभरि चासो राख्न खोजिएको छ ।
आईएसलाई आईएसआईएस वा आईएसआईएल भन्नेपनि गरिन्छ जसको पुरा नाम इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया वा इस्लामिक स्टेट अफ इराक एन्ड लेभान्त हो । यस संगठनको अरविक नाम जमात अल तावहिद वाल जीहाद हो । यो सुन्नी इस्लाम अन्र्तगतको वाहावी वा सलाफी मत मान्नेहरुको समुह हो । यसले आफ्नो आस्था इतरको जो कोही व्यक्ति वा संगठनलाई अधार्मिक, दुष्ट तथा अल्लाह विरोधी ठान्ने गर्दछ् ।
यो समुह सन् १९९९ तिर जमात अल तावहिद वाल जीहाद नामले मात्र चिनिन्थ्यो । जसले सन् २००४ मा त्यतिखेरको खतरनाक आतंकवादी संगठन अलकायदाको अभियानमा सहयोग गर्ने नीति लिएको थियो । यो संगठनले सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अमेरिका विरुद्धको युद्धमा सक्रियतापूर्वक भाग लिएको थियो । सन् २००६ मा यो समुह त्यतिखेर इराकमा संर्घषरत इस्लामिक समुह मुजाहिदिन शुरा काउन्सिलसंग विलय भई इस्लामिक स्टेट अफ इराक आईएसआई गठन भयो ।
सन् २०११ मार्चमा सिरियाको गृहयुद्ध शुरुभएपछि आईएसआईका प्रमुख नेता अल बगदादीले आफ्ना प्रतिनिधिहरु सिरिया पठाएर अल नुस्रा फ्रन्ट संगठनसंग एकीकरण गरी इस्लामिक स्टेट अफ इराक एन्ड लेभान्त घोषणा गरियो । जुन निर्णयप्रति अलकायदा तथा अलनुस्रा फ्रन्टका केहीले आपत्ति जनाउँदै आईएसआइएलसंग सम्वन्ध टुटेको वताएका थिए ।
आईएसआइएले इराकमा कव्जा गरिएका क्षेत्रलाई आईएसआईएस इलाका र सिरिया, लिविया लगायतका ठूलो इलाकालाई आईएसआईएल भन्दै आएको छ । तर पछिल्लो पटक संगठन र यसले कव्जा गरेको क्षेत्रलाई आईएस इलाका भन्न थालिएको छ ।
आईएसले इराक, सिरिया, लिविया लगाएतका मुलुकमा कव्जामा लिएका भूभागहरुको गणना गर्दा युरोपको स्विटजरल्यान्ड जत्तिको क्षेत्रफल कव्जामा लिएको वताईन्छ । आफुले कव्जामा लिएको क्षेत्रलाई यस संगठनले इस्लामिक क्यालिफेट अर्थात इस्लामिक पवित्र राज्य भन्दै आएको छ । आफ्ना प्रमुख नेता अल बगदादीलाई पैगम्वर मोहम्मदको बंशज ठानी राज्य प्रमुख क्यालिफ घोषणा गरेको छ ।
पछिल्लो पाँच बर्षमा आईएस विश्वकै शक्तिशाली र खतरनाक आतंकवादी संगठनकोरुपम दरिएको छ । विश्वका करिव २५ मुलुकहरुमा यस संगठनले आफ्ना शाखा विस्तार गरेको छ भने ६० भन्दा बढी देशहरु आईएस विरुद्धको लँडाईमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लागिपरेका छन् ।
विश्वको प्रमुख सुरक्षा चुनौती बनेको आईएस संगठन विरुद्ध विश्व समुदायले नै सहकार्य र ऐक्यबद्धरुपमा ठोस कदम चाल्न अव ढिलो गर्नु हुँदैन् । अन्यक्ष फ्रान्स आक्रमण भन्दा डरलाग्दा आक्रमणहरु विश्वका कुनैपनि स्थानमा हुन सक्नेमा कुनै शंका छैन् ।
news24nepal.
Post a Comment