नाकाबन्दी नखुली भारत भ्रमणमा जान्न : प्रधानमन्त्री
‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्यो’
मंसिर १३, २०७२- दुई महिनायता जारी रहेको भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।
भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आएका एमाले नेता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई भ्रमणमा ननिस्कने सन्देश सुनाएको’ जानकारी गराए । ‘यतिखेर प्रधानमन्त्री ओलीको मुख्य चासो भनेको नेपाली जनताले अनाहकमा बेहोर्नुपरेको पीडालाई सम्बोधन गर्नेतर्फ छ,’ प्रधानमन्त्री बन्नुअघि ओलीका विशेष–दूत बनेर दिल्ली आएका नेता ज्ञवालीले भने, ‘भारत भ्रमणको औपचारिक निम्तो लिएर आउने दूतलाई ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्यो ।’
एमालेका सचिव ज्ञवालीले ‘छिमेकी प्राथमिकता’ भन्दै अहिले नेपाललाई गरिएको भारतीय व्यवहारमा कहींकतै मेल खान नसक्ने भन्दै भारतले आफ्ना नीतिहरुको पुनरावलोकन गर्नैपर्ने अडान दिल्लीमा भेटिएका नेपाल मामलामा शुभेच्छा राख्ने दलीय नेताहरुसमक्ष सुनाएका छन् । ‘दिल्ली आएर कुन दलका कुन नेताले के आश्वासन र प्रतिबद्धता जनाएका हुन्, मलाई अरुका बारेमा थाहा छैन,’ नेता ज्ञवालीले भने, ‘तर मैले भने मोदी सरकार र भारतीय जनता पार्टीसम्बद्ध सत्ताधारी नेताहरुसँग नेपालको शान्ति प्रकृयामा जोडिएको संविधानमा सकारात्मक बनिदिन आग्रह गरेको थिएँ ।’
नेता ज्ञवाली नेपालमा संविधान जारी हुनुअघि गत सेप्टेम्बर १५ देखि तीन दिने दिल्ली दौडाहामा आएका थिए ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.