केचना (झापा): हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।
हतियारसहित नेपाल छिरेपछि गाउँलेको ठूलो समूहले ‘भारतीय गुन्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कारबाही गर’ लगायत नारा लगाउँदै केचनामा प्रदर्शन गरेको थियो। सोही क्रममा स्थानीय बासिन्दा र एसएसबीका जवानबीच हात हालाहालसमेत भएको केचना ६ स्थित दीपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताए।
राजवंशीका अनुसार गाउँलेलगायत नेपाल-भारत सीमाका व्यापारीको ठूलो समूहले एसएसबीलाई कारबाही गर्न माग राखेको थियो। स्थानीय बासिन्दासँग हात हालाहालको स्थिति आएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले नेपाल छिरेका एसएसबीका जवानलाई उद्धार गरेर पोस्टमा राखेको गाउँलेले बताए।
केचना ९ का कर्णबहादुर बिष्टका अनुसार सशस्त्र प्रहरीले एसएसबीका जवानलाई पक्राउ गरेको नभई गाउँलेसँग झडप हुने भएकाले उद्धार गरेको हो।
बिष्टले हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बलका जवानलाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए।
उनले भने, ‘हतियारसहित अर्काको देशमा आएका एसएसबीलाई कुनै कारबाहीबिना छाडेको देख्दा अचम्म लागेको छ। कम्तीमा जिल्ला सदरमुकामसम्म लगेर छाडेको भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो।' यही कुरा अधिकांश गाउँलेले पनि उठाएका छन्।
स्थानीय शिक्षक पञ्चानन राजवंशीले भारतले यति हेप्दा पनि नेपालको प्रशासन टुलुटुलु हेरेर बसेकोमा केचनाबासी निकै चिन्तित बनेको बताए। हतियारसहित एसएसबी नेपालका गाउँमा पसेको खबर पाउनासाथ झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक भीमबहादुर दाहाल केचना पुगेका थिए।
उनीहरूले हतियारसहित आएका एसएसबीलाई गाडीमा हाली दसगजामा पुर्याएर १२ बटालियन किसनगन्जका सेकेन्ड इन कमान्डेन्ट शेषभगत नागी र असई नरेश कुमारको जिम्मा लगाएका थिए। सीमा अपराधमा मिलेर काम गर्ने र आइन्दा हतियारसहित नेपाल प्रवेश नगर्ने प्रतिबद्धता एसएसबीले जनाएपछि उनीहरूलाई सम्मानका साथ भारतीय पक्षलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.