फोटो :पूर्वको सुरक्षा बैठकमा सहभागी हुँदै गृहमन्त्री शक्ति बस्नेत । तस्बिर : रत्नप्रसाद आचार्य
मधेसको राजमार्गमा दिउँसै गाडी चलाउने तयारी
सुनसरी : गृहमन्त्री शक्ति बस्नेतले नेपाल सरकार भारतसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् ।
‘भारतीय नाकाबन्दीको सरकारले डटेर सामना गर्छ’, गृहमन्त्री बस्नेतले भने, ‘भारतसँग झुकेर राष्ट्रहित विपरितका सम्झौता गर्दैनौं ।’
गृहमन्त्री बस्नेतले तराई–मधेसमा जारी आन्दोलन राष्ट्र हितविपरित भएको जनाउँदै कानुन कार्यान्वयन गरेर शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
‘मधेसमा आन्दोलन जारी रहेपनि अब राजमार्गमा दिउँसै गाडी सञ्चालनको तयारीमा छौं’, उनले भने, ‘सुरक्षाव्यवस्था बलियो बनाएर अब राजमार्ग सुचारु गरिन्छ ।’
गृहमन्त्री बस्नेतले भारतीय सीमा सुरक्षा बलले नेपालमै आएर नेपालीमाथि गोली हानेको घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताए ।
‘नेपालीमाथि नेपालमै आएर भारतीय प्रहरीबाट भएको गोली प्रहारको घटना सहन सकिन्न’, उनले भने, ‘यो घटनालाई सरकारले गम्भीरतापूर्वक अन्तर्राष्ट्रिय कानुनको ध्यानाकर्षण गराउँछौ ।’
मन्त्री बस्नेतले कानुनविपरित काम गर्ने कसैलाई पनि सरकारले नछाड्ने बताउँदै जनता र देशको सुरक्षामा सरकार सक्षम रहेको पनि दाबी गरे ।
annapurnapost
Post a Comment