बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल
पार्टीले मधेसी मोर्चाको आन्दोलनलाई काउन्टर दिन आफ्नो पकड क्षेत्रमा शान्तिपूर्ण आन्दोलन गरेको दाबी गरेको छ । उसले गरेको आन्दोलनको विभिन्न पक्षबाट समर्थन र आलोचना दुबै भइरहेका बेला दैनिक नेपाल डटकमका लागि विमल योगीसँग चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसँग काठमाडौंमा गरिएको कुराकानी :
चुरे भावरको आन्दोलनको उद्देश्य के हो ?
– चुरे भावर प्रदेश कायम गर्ने । नेपाल सरकारसँग भएको नौँ बुँदे सम्झौतालाई तत्काल कार्यान्वयन गराउन दवाव दिने हाम्रो प्रमुख उद्देश्य हो । र अहिले भएको भारतीय नाकाबन्दी र मधेसी मोर्चाको ज्यादतीविरुद्ध सडकमा उत्रिएका हौँ ।
तपाईहरूको नौँ बुँदे सम्झौतामा के के उल्लेख छ ?
– नौँ बुँदे सम्झौको प्रमुख सहमति भनेको चुरे भावर क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउने, र चुरे क्षेत्रभित्र रहेका गिट्टी, बालुवाटा, बन, जंगल आदिलाई संरक्षणका लागि चुरे भावर पार्टीसँग समन्वय गरेर अगाडि बढ्नु पर्छ । सदरमुकाममा रहेका सरकारी कार्यालयहरू चुरे भावर प्रदेशमा शाखा कार्यालयहरू स्थापना गर्नेलगायतका सम्झौता कार्यान्वयन गराउनुपर्ने उल्लेख छन् ।
अहिले आएर ती माग किन कार्यान्वयन गर्नुपर्ने ?
– हामीसँग भएका सहमति राज्यले इमान्दारिताका साथ पूरा गर्छ भन्ने सोँच र विश्वासका साथ संयम भएर बसेका थियौँ । तर राज्यले हाम्रा माग कार्यान्वयन गर्नेतर्फ कुनै तदारुकता देखाएन । हामीलाई हेपाहा प्रवृत्ति देखायो । विभिन्न समूहका मागलाई कार्यान्वयन गर्ने पक्षमा सकारात्मक देखिने । तर हाम्रा माग एक पटक पनि पूरा गर्नेतर्फ ध्यान नदिने ? यस्तो पनि हुन्छ ? चुरे भावरसँग भएका सहमति कार्यान्वयन गराउन हामी दवावका साथ आन्दोलनमा छौँ ।
तपाईहरूको आन्दोलन साम्प्रदायिक भयो भन्ने आरोप छ नी ?
– एकदम गलत हो । हाम्रो आन्दोलनले सामाजिक सद्भाव कायम गरेको छ । हाम्रो नारा नै छ । जातीय सद्भाव कायम गरौँ, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, नेपाल र नेपालीको अस्तित्व अक्षुण कायम राख्ने भन्ने नारा छ । अब भन्नुस् हामी कसरी साम्प्रदायिक भयौँ ? हामीले कुनै जातविशेषविरुद्ध आन्दोलन गरेका होइनौँ । हाम्रो आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन हो ।
त्यसो भए मधेसी मोर्चाका कार्यकर्तालाई तपाईहरूले सर्लाही जिल्लामा किन लखेट्नु भो ?
– तीन महिनाभन्दा बढी मधेसी मोर्चाको आन्दोलनमा हाम्रो चुरे भावर प्रदेशको पडक क्षेत्रमा कुनै बन्द नरहेको जानकारी गराउँछु । नेपालका जनताको जीवन अहिले यति कष्टकर भएको छ, यस्तो अवस्थामा हाम्रो प्रदेशमा बन्द गर्न नदिने पार्टीको स्पष्ट नीति छ । हामीले उहाँहरूलाई बन्द गर्न नआउनु भन्दाभन्दै जबरजस्ती पूर्वपश्चिम महेन्द्र राजमार्गको चुरे भावर प्रदेश क्षेत्रमा बन्द गर्न आएपछि बाध्य भएर चुरे भावर पार्टीका कार्यकर्ता र भावरबासीले शान्तिपूर्ण रुपमा हटाएका हुन् ।
कसरी शान्तिपूर्ण भयो ? तपाईहरूले मधेसी मोर्चालाई भौतिक आक्रमण गरेको आरोप छ ?
– आन्दोलन हो । आन्दोनलमा अलिअलि धक्कामुक्क भयो होला । तर हाम्रो आन्दोलन शान्तिपूर्ण नै छ । हामी कसैलाई भौतिक आक्रमण गर्ने नीति नै छैन । तर जनतालाई कसैले दुःख दिन्छ र राजमार्ग अबरोध गर्छ भने चुपलागेर बस्दैनौ पनि ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको आन्दोलनलाई सरकारबाट सञ्चालित छ भन्ने मधेसी मोर्चाको आरोप छ नी ?
– यो बिलकुल गलत हो । सरकारसँग भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि पहिलो चरणको शान्तिपूर्ण आन्दोलन, सभा, र्याली, जुलुस गरेका हौँ । यो आन्दोलन हाम्रा माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले गरिएको हो । हामीसँग सत्तारुढ दलको कुनै संलग्नता छैन । बरु नेपाली जनताको अपार साथ र समर्थन छ । आन्दोलनमा जनताको समर्थन भएको चाहीँ सत्य हो । प्रधानमन्त्री र मन्त्रीसँग सम्पर्क गरेको कसैले प्रमाण दिन्छ भने देखाउन खुला चुनौती दिन्छु ।
बरु मधेसी मोर्चा भारतीयहरूको उस्काहटमा लागेर मुलुकमा नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिने कार्यमा लागेका छन् । मधेसी मोर्चाका केही शीर्ष नेताहरू सामाजिक सद्भाव भड्काउन सक्रिय रुपमा छन् । यसको प्रमाण तपाईहरूकै पत्रिपत्रिका र सञ्चारमाध्यमहरूबाट धमाधम सार्वजनिक भैरहेका छन् ।
तपाईहरूको आन्दोलन कहिलेसम्म चल्छ ?
– जहिलेसम्म हाम्रो माग कार्यान्वयन हुँदैन तबसम्म आन्दोलन चल्छ ।
तपाईको आन्दोलनले चुरे भावर क्षेत्र बन्द गर्ने हो ?
– आन्दोलन भनेको बन्द मात्रै होइन । आन्दोलन सभा जुलुस, र्याली, प्रदर्शन, घेराउ पनि हुन् । हामी चुरे भावर प्रदेश तत्कलै बन्द गर्ने पक्षमा छैन । सडक पनि अबरोध गर्दैनौँ । र कसैलाई सडक बन्द गर्न पनि दिँदैनौँ । बन्द गरे प्रतिकार हुन्छ । जनताको जीवन कष्टकर भएको अवस्थामा जनताको दुःखमा थप पीडा दिने काम गर्दैनौ ।
सुनसरी जिल्लाभित्र प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले चार जना नेपालीलाई गोली हानेर गम्भीर घाइते बनाए छ नी ?
– हामीले यो कार्यको घोर आपत्ति जनाएका छौँ । जो सुकै भए पनि त्यो नेपाली हो । भारतको यो ठाडो हस्तक्षेपको हामीले विरोध गरेका छौँ । तर तिनै मधेसी मोर्चाका नेताहरू, जसले आफूलाई धर्तीपूत्र भन्छन् उनीहरूले यस विषयमा विरोधको त परै जाओस् ‘चु’सम्म बोलेका छैनन् । गोली चलाउने भारतीय एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गरेर गोली लागेका चार नेपालीहरूलाई क्षतिपूर्ति दिनुपर्छ । यो चुरे भावर राष्ट्रिय एकता पार्टीको माग हो ।
मधेसी मोर्चाको आन्दोलन कतैबाट सञ्चालित छ ?
– सारा नेपालीले बुझेका छन् । कतिले बोलेका छन् । कतिले बोलेका छैनन् । मधेसी मोर्चाको आन्दोलन कहाँबाट सञ्चालित छ त्यो एैना जस्तै छर्लङ्ग छ । मलाई किन भन्न लगाउनु हुन्छ र ?
तपाईहरूको आन्दोलनमा पहाडियामात्रै संलग्न छन् किन अरुको पनि समर्थन छ ।
– चुरे भावर प्रदेशमा रहेका सबै जातजातिको समर्थन छ । हाम्रो र्यालीमा मधेसी मुलका दाजुभाई तथा दिदीबहिनीहरूको पनि उल्लेख्य उपस्थिति रहने गरेको छ । तपाईलाई विश्वास लाग्दैन भने हाम्रो आन्दोलनमा आएर हेरे हुन्छ । सुनसरी जिल्लाको चुरे भावर राष्ट्रिय एकता पार्टीको जिल्ला अध्यक्ष फडिन्द्र यादव नै हुनुहुन्छ । कसरी हामी पहाडियाको मात्रै पार्टी भयौँ ? पार्टीमा सबैको प्रतिनिधित्व छ ।
dainiknepal
Post a Comment