झापा, १३ मंसिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान सुरु भएको छ ।
अनुमतिविनै हतियारसहित नेपाल प्रवेश गरेको भन्दै उनीहरुलाई आज बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको भनिएपनि उनीहरुको गतिविधी शंकास्पद रहेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उनीहरुले चार थान आधुनिक हतियार बोकेर नेपाल प्रवेश गरेको पाइएको छ । हाल केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएका भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न तथा घटनाको स्थलगत अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलासहितको टोली घटनास्थल पुगेको छ ।
उक्त टोलीले एसएसबीमाथि अनुसन्धान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले उनीहरू तस्करलाई लखेट्दै नेपाल छिरेपनि बाटो बिराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
यसैबीच झापाको केचनाका स्थानीयबासीले भारतीय सुरक्षाकर्मीलाई नछोड्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले सशस्त्र प्रहरी कार्यालय बाहिर नाराबाजी गरिरहेका छन् । नेपालीलाई दुःख दिने एसएसबीलाई जेल हाल भन्दै नाराबाजी गरिरहेको स्थानीय पुष्प कँडेलले जानकारी दिनुभयो ।
dainiknepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.