बेइजिङमा आपूर्तिमन्त्रीले मागे आपतकालीन सहयोग

बेइजिङमा आपूर्तिमन्त्रीले मागे आपतकालीन सहयोग
ग्वान्झाओ (चीन)—वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले सुटुक्क बेइजिङ पुगेर नेपाललाई आपतकालीन रुपमा सहज मूल्यमा पेट्रोलियम पद्धार्थ उपलब्ध गराउन चीनसँग आग्रह गरेका छन्। सोमबार बेइजिङमा राजनीतिक भेटवार्ता गरेका मन्त्री पुन हङकङ हुँदै मंगलबार राती काठमाडौँ फर्कने क्रममा छन्।

प्रधानमन्त्री केपी ओलीको पत्र बोकेर सोमबार बिहान हङकङबाट बेइजिङ पुगेका मन्त्री पुनले दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । 'अल चाइना युथ फेडरेशनका उपाध्यक्ष मार्पmत् चीनको राजनीतिक तहमा छलफल भएको मन्त्रीले बताउनु भयो', मंगलबार बिहान पुनसँग कुराकानी भएको बताउँदै बेइजिङस्थित दूताबासका एक अधिकारीले भने, 'कर र सेवा शुल्क नलगाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाललाई आपतकालीन रुपमा पेट्रोलियम पद्धार्थ उपलब्ध गराउन चीन तयार रहेको आश्वासन आपूर्ती मन्त्रीलाई दिइएको रहेछ ।'

चीनबाट इन्धन आपूर्ती गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भए पनि मूल्य महँगो पर्ने हल्ला भएपछि राजनीतिक र व्यावहारिक पक्ष मिलाउन प्रोटोकलको समेत ख्याल नगरी अनौपचारिक रुपमा मन्त्री पुन बेइजिङ पुगेको दूतबासका ती अधिकारीले बताए । 'सरकारले इन्धन आपूर्तीलाई उच्च प्राथमिकतामा राखेको मन्त्रीको यो अनौपचारिक भ्रमणले देखाउँछ, यद्यपी बेइजिङमा सुरक्षा लगायत मन्त्रीलाई दिइनु पर्ने सबै सम्मान दिइएको थियो', मन्त्री पुनलाई उद्धृत गर्दै उनले भने, 'काठमाडौँ फर्केपछि बेइजिङमा भएको राजनीतिक समझदारीलाई औपचारिक प्रक्रियामा लगेर सम्झौता प्रक्रिया अगाडि बढाइने छ ।'

भेटवार्तामा सहभागी नभए पनि बेइजिङमा मन्त्री पुनसँग निकट सम्पर्कमा रहेका व्यावसायी नरेन्द्र उलकका अनुसार प्रधानमन्त्री ओलीको पत्रमा पनि सहज मूल्यमा आपतकालीन रुपमा पेट्रोलियम पद्धार्थ उपलब्ध गराउन चीनको राजनीतिक नेतृत्वसँग आग्रह गरिएको थियो । उनका अनुसार मन्त्रीले राजनीतिक तहमा गरेको समझदारी अनुसार चीनले नेपाललाई व्यापारिक रुपमा उपलब्ध गराउने पेट्रोलियम पद्धार्थमा कर र सेवा शुल्क लाग्ने छैन, जसले गर्दा चीनबाट ल्याइने इन्धनको मूल्य अहिलेको मूल्यकै हाराहारी पर्न आउँछ । तर क्रुड आयल प्रशोधन गर्दा लाग्ने खर्च र ढुवानी खर्च नेपालले व्यहोर्नु पर्नेछ । मन्त्री पुनले सहज तरिकाले एलपीजी ग्यास आयात गर्नेबारे पनि बेइजिङमा छलफल गरेको उलकले बताए ।

नेपालले कर छुट दिएर भए पनि सहज मूल्यमा इन्धन उपलब्ध गराउन आग्रह गरेपछि पेट्रो–चाइनाले त्यसका लागि दुई देशबीच राजनीतिक तहमै छलफल हुनुपर्ने आशय राखेको थियो । त्यसपछि प्रधानमन्त्रीको पत्र बोकेर आपूर्तीमन्त्री पुन एक्लै बेइजिङ पुगेको उलकले खुलाए । मूल्य सहज बनाउन कर छुट दिनेसँगै व्यापार सम्झौता भएको दुईदेखि तीन दिनभित्रै आपतकालीन रुपमा नेपालमा इन्धन पठाउन शुरु गर्ने आश्वासन पनि मन्त्री पुनले चीनको राजनीतिक तहबाट पाएका छन् ।

मूल्य सहज बनाउनेबारे राजनीतिक तहमा समझदारी भए पनि नेपाल आयल निगम र पेट्रो–चाइनाबीच हुने द्विपक्षीय छलफलपछि मात्र प्राविधिक विषय टुङ्गो लाग्नेछ । आपूर्तीमन्त्री पुनले मंगलबार काठमाडौँमा प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहाल सहित सत्ता गठबन्धनका शीर्ष नेतृत्वलाई बेइजिङमा भएको राजनीतिक समझदारीबारे ब्रिफिङ गरेपछि चीनसँग व्यापार सम्झौता प्रक्रिया अगाडि बढ्ने देखिएको छ।

मन्त्री पुनले बेइजिङमा राजनीतिक समझदारी गरेसँगै पेट्रो–चाइनाले नेपाल आयल निगमलाई पत्र पठाएर व्यापार सम्झौता गर्न बोलाएकाले संभवतः यही साता चीनसँग सम्झौता हुन सक्नेछ ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget