दैनिक डेढ लाख लिटर इन्धन भित्रिन्छ

२ मंसिर, चितवन।

पर्साको ठोरीनाकाबाट चितवनको माडीहुँदै दैनिक रुपमा एक लाख ५० हजार लिटरको हाराहारीमा इन्धन नेपाल भित्रिएको पाइएको छ ।


जसले नारायणी, धौलागिरि, गण्डकी र बाग्मती अञ्चलका विभिन्न जिल्लाको अत्यावश्यक सेवा धानेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर दैनिक रुपमा एकदेखि डेढ लाख लिटरसम्म इन्धन माडीको बाटोबाट भित्रिने गरेको प्रहरीको सर्वेक्षणले देखाएको बताउँछन्।

“कूल इन्धनमध्ये ३० प्रतिशत पेट्रोल र ७० प्रतिशत डिजेल रहने गर्दछ” उनले भने । चितवन, मकवानपुर, धादिङ, काठमाडौँंसँगै धौलागिरि र गण्डकीका केही जिल्लामा यहीँको इन्धन पुग्ने गरेको उनको भनाइ छ । पर्साको ठोरीमा डिजेल प्रतिलिटर रु १५० र पेट्रोल रु १६० मा खरिद गर्ने गरेको जानकारी आएको कुँवरले बताए । कतिपयले भारतीय पेट्रोल पम्पमै गएर इन्धन भर्ने गरेका छन् भने केहीले सीमा क्षेत्रमा सम्पर्कव्यक्तिमार्फत् इन्धन किन्दै आएका छन् ।



यसरी खरिद गरिएको इन्धन अधिकांशले आफ्नो प्रयोगको लागि खपत गर्ने गरेको भए पनि केहीले कालोबजारी गर्ने गरेको पाइएको छ । जिल्लामा पेट्रोल प्रतिलिटर रु २५० देखि रु ३०० सम्ममा बिक्री हुने गरेको छ । त्यही पेट्रोल काठमाडौँ पुग्दा प्रतिलिटर रु ५०० सम्ममा बिक्री हुने गरेको पाइएकोे प्रहरी उपरीक्षक कुँवरले बताए ।

सो बाटो हुँदै आउने तेल रोक्ने विषयमा छलफल गरिएको भए पनि अत्यावश्यक क्षेत्र समेत सञ्चालनका लागि कठिनाई हुने भन्दै स्थानीय दबाब बढेपछि प्रहरी प्रशासनले त्यसरी भित्रिएको इन्धनलाई अभाव टार्न भन्दै छाडेको उनी बताउँछन् । जसका कारण ठूलो मात्रामा राजस्वमा चुहावट हुँदै आएको छ ।

चितवनमा मात्रै सहज अवस्थामा दैनिक ४५ हजार लिटर पेट्रोल र एक लाख ८० हजार लिटर डिजेल खपत हुने गर्दछ । अहिले कुपन र पालो लगाएर सातामा एक पटक वितरण गरिंँदै आएको ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोलसँगै माडी र नवलपरासीको त्रिवेणी नाकाबाट आउने इन्धनले बजार धानेको पेट्रोलियम डिलर्स एसोसिएसन चितवनका अध्यक्ष काशीराज पाठक बताउँछन् ।

“खेती किसानीको बेला अधिकांशले महंँगोमा ठोरी, त्रिवेणीलगायतका विभिन्न नाकाबाट इन्धन ल्याएर धानेका छन्” उनले भने । यसरी आएका इन्धनमा बढी मात्रामा मिसावट हुने हुँदा सर्वसाधारणले दुःख पाउने गरेका छन् । अर्काेतर्फ पश्चिम चितवनको गीतानगरबाट माडीको अयोध्यापुरीसम्मका धेरै घरमा इन्धन सङ्कलन गरेर राखिएकाले दुर्घटनाको जोखिम समेत बढेको प्रहरीको भनाइ छ ।

प्रहरी उपरीक्षक कुँवर इन्धन सङ्कलन नगर भन्ने अवस्था नरहेकाले सुरक्षित रुपमा राख्न आग्रह गरे । विभिन्न जिल्लामा सङ्कलन गरिएर राखिएको इन्धनकै कारण आगलागी भइरहँदा त्यस्ता घटना नहोस् भन्नका लागि जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget