वीरगञ्ज नाका नजिकै प्रहरी र प्रदर्शनकारीबीच भीडन्त, प्रहरीको गोली लागेर एक प्रदर्शनकरीको मृत्यु
कात्तिक १६ | अमित अग्रवाल
वीरगञ्ज– वीरगन्ज–रक्सौल नाका नजिकै रहेको संकराचार्यद्वार नजिकै भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन भने शबलाई प्रहरलिे घटनास्थलमै आफ्नो नियन्त्रणमा राखेको छ ।
स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली लागेर परिचय खुल्न नसकेको ति प्रदर्शनकारीको मृत्यु भएको डिएसपी होगेन्द्र बोगटीले बताए ।
दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा गत असोज ७ गते देखि २४ सै घण्टा धर्ना दिएर मधेशी दलले ठप्प पारेको नाका प्रहरीले आज बिहान हस्तक्षेप गरेर खुलाएको विरोधमा वीरगंजमा प्रदर्शन भईरहेको छ । प्रदर्शनकारीहरुले बजार क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन् भने सीमा नाकामा फेरि धर्ना सुरु गरिसकेका छन् ।
यसैबीच वीरगन्ज भन्सार क्षेत्र , छपकैया , विर्ता , आदर्शनगर , माइस्थान , नगवा , घण्टाघर , रानीघाट , श्रीपुर , मुर्ली , पावरहाउस चोक , पिपरा , गण्डक , परवानीपुर लगायतका स्थानमा पनि बिहानै देखि प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने ठाउ ठाउमा प्रहरी र प्रदर्शनकारी बिच झडप भईरहेको छ । झडपमा प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको छ भने झडपमा ५ प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुने हरुमा रबी यादव, गोबिन्द शाह, भुलन शाह, युजी सोनार र राहुल दाश रहेका छन् । उनीहरुको नारायणी अञ्चल अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले प्रहरी हस्तक्षेपको विरोधमा हुलाक कार्यलय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् ।
बिहान प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर सीमानाकाबाट धपाउनुका साथै धर्नास्थलमा टाँगिएको पाँच वटा टेन्ट कपडाको (समीयाना) र बाँस जलाइदिएको थियो ।
प्रहरीले प्रदर्शनकारीको एउटा मोटरसाइकल र १२० थान मोबाइल फोन सेट पनि नियन्त्रणमा लिएर गएको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले बताए ।
प्रहरीको लाठीचार्जबाट १० जना प्रदर्शनकारी घाइते पनि भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राज कुमनर यादवले बताए ।ratopati
Post a Comment