३० कात्तिक, काठमाडौं । काठमाडौंमा आजभोलि जताततै लाइनै नै लाइन देखिन्छ । पेट्रोल पम्पहरुमा सार्वजनिक सवारी साधानको लाइन छ । निजी सवारी साधनलाई तेल बाँड्ने भन्यो भने त सयौं मिटरसम्म लाइन लाग्छ ।
आइतबार सरकारले दाउरा बेच्न सुरु गर्यो । तर, दाउरा किन्नका लागि पनि लामै लाइन लाग्यो । ग्यास आएको खबर पाएपछि सोमबार राजधानीका विभिन्न स्थानमा ग्यासका लागि सर्वसाधारण लाइनमा बसेका छन् ।
भारतीय नाका केही सहज भएपछि भित्रिएको ग्यासबाट केही उद्योगले सोमबारदेखि आधा सिलिन्डरको बिक्री सुरु गरेका हुन् । सोमबार नेपाल ग्यास कम्पनीले १४ सय १५ वटा सिलिन्डर वितरण गरेको छ । साल्ट ट्रेडिङले पनि केही डिपोहरुबाट ग्यासको सिलिन्डर बिक्री गरेको छ ।
रक्सौलबाट रिरुटिङ गरेर ल्याइएका २३ वटा ग्यास बुलेट भैरहवा नाकाबाट आइतबार नेपाल भित्रिएको थियो । मंगलबारदेखि केही उद्योगले त्यही ग्यास बजारमा ल्याउने नेपाल आयल निगमले जनाएको छ ।
भैरहवाबाट आएकामध्ये धेरैजसो काठमाडौंमा बिक्री हुने ग्यासका बुलेट हुन् । बुधबारदेखि बजारमा विभिन्न कम्पनीले बिक्रेतामार्फत ग्यासको बिक्री तीव्र पार्ने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।onlinekhabar
Post a Comment