नाकाबन्दीले लिँदै छ नेपालीको ज्यान
कात्तिक २९
काठमाडौँ- सिरहाका नेविसंघ जिल्ला कमिटी सदस्य कमलेशकुमार यादवले मोटरसाइकलका लागि केही पेट्रोल जोहो गरेर घरमा राखेका थिए । तर, त्यही पेट्रोल उनको मात्र होइन, श्रीमतीको पनि काल बन्न पुग्यो ।
पेट्रोलका कारण घरमा लागेको आगोले गम्भीर घाइते भएका दुवैजनाको शनिबार उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सिरहाको महादेवा पोर्तहा–७ गाविसमा अवस्थित यादवको घरमा गत १७ कात्तिकमा आगो लागेको थियो । पेट्रोल पोखिएको कोठामा आगो बाल्न खोज्दा त्यसरी यादवदम्पतीको मृत्यु भएको हो । घरको आगो निभाउने क्रममा गम्भीर घाइते भएका २७ वर्षीय कमलेश्वर र उनकी २४ वर्षीया श्रीमती पूजा यादव चौधरीको मृत्यु भएको हो । पूजाका भाइले पेट्रोल बल्छ कि बल्दैन भनेर सल्काउँदा पूरै घर नै जलेको थियो । भारतको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन समस्याका कारण उनले घरमा पेट्रोल राखेका थिए ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पूजाका १० वर्षीय भाइले बल्छ कि बल्दैन भनेर पेट्रोल पोखिएको स्थानमा आगो बाल्दा उक्त दुर्घटना भएको हो । त्यसवेला पूजा घरभित्र सुतेकी थिइन् । उनलाई जोगाउँदा कमलेश घरभित्र पसेका थिए, आगो निभाउन खोज्दा दुवैजना गम्भीर घाइते भएका थिए ।
भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट सुरु भइसकेको छ भने अन्य दुर्घटना र विपत् पनि निम्त्याउन थालेको छ । नाकाबन्दकी कारण सिर्जित ती दुर्घटनाले धेरै नेपालीले ज्यान गुमाउन थालेका छन् ।
सिरहाकै प्रकृतिको घटना गत २४ असोजमा काठमाडौंको कोटेश्वरमा पनि भएको थियो । जोहोका लागि ग्यालिनमा राखिएको पेट्रोलकै कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । रामेछाप लखनपुरका लेखराज श्रेष्ठ, उनकी श्रीमती देउकी र छोरी जेनिशा श्रेष्ठको पेट्रोलबाट सल्किएको आगोले मृत्यु भएको थियो । लेखराज ट्याक्सीचालक हुन् । उनले आफ्नो डेरामा जोहो गरेर पेट्रोल राखेका थिए । एउटा भाडोबाट अर्काे भाडामा पेट्रोल खन्याउने क्रममा आगो लागेको थियो । लोडसेडिङका कारण डेरामा मैनबत्ती बालेकाले पेट्रोल पोखिएर सल्किएको थियो ।
यसरी पेट्रोलमा आगो लागेर हुने मृत्युका साथै नाकाबन्दीको अप्रत्यक्ष प्रभाव सडक दुर्घटनामा पनि पर्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्धनको अभावका कारण सवारीसाधनहरूले क्षमताभन्दा तेब्बरसम्म यात्रु बोकेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।
गत ३ कात्तिकमा यात्रुसँगै इन्धन बोकेको बस बाँकेको खासकुस्मामा दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए । बसमा पेट्रोल राखिएकाले दुर्घटनापछि आगो लागेर धेरै जलेका थिए । उक्त घटनापछि प्रहरीले यात्रुबाहक बसमा इन्धन ओसारपसार गर्न कडाइ गरेको थियो ।
गत वर्षको तुलनामा यो वर्षको दसैँ–तिहारमा कम दुर्घटना भए पनि कतिपयमा इन्धन अभावको अप्रत्यक्ष कारण रहेको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम बताउँछन् , नया पत्रिका दैनिकमा खबर छ ।
ratopati
Post a Comment