'भारतीय भूमिबाट आक्रमणपछि वीरगन्जमा जवाफी कारबाही'
ओली मोदी टेलिफोन वार्ता
काठमाडौं: भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ।
२०७२ कार्तिक १७ मंगलवार
प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए। सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको थियो।
प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे।एमालेका महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए।
ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए। जबाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए।
पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो।प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल-भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले अन्नपूर्णलाई बताए।
‘प्रदर्शनका क्रमममा आन्दोलनकारीले प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयमा ढुंगा बर्साउँदै आक्रमण गर्न थालेपछि बाध्य भएर प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको जानकारी गराउनुभयो। पछि बुझ्दा उनी भारतीय नागरिक भएको खुल्न आएको मोदीसमक्ष बताउनुभयो’, भट्टराई बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूलाई भने।
२५ मिनेट भएको वार्तामा मोदीले वीरगन्ज घटनाको यथाशीघ्र अनुसन्धान गर्न आग्रह गरेका थिए।‘मधेसको समस्या नेपालको आन्तरिक समस्या हो। नेपालले नै समस्या हल गर्नुपर्छ। तर हामी समस्या हल गर्न सहयोग पुर्याउन तयार छौं', मोदीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्णसँग भने।
उनका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सम्बन्ध बिग्रनु दुवै देशको हितमा नरहेको समेत मोदीलाई बताए।प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई मोदीले दोस्रोपटक फोन गरेका हुन्। यसअघि मोदीले प्रधानमन्त्री निर्वाचत भएकै दिन ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।
यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षाकर्मीमाथि भारतीय भूमिबाट आक्रमण गर्ने काम भएकाले स्थिति नियन्त्रणमा लिने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको बताएको छ। उसले धर्नाकारी पाँचजना पक्राउ गर्दासमेत दुईजना भारतीय नागरिक परेको, भारतीय भूमिबाट एक हुल भीड आन्दोलित हुँदै नेपाल आएको र सुरक्षाकर्मीमाथि बमसमेत प्रहार गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा मृतक व्यक्ति आक्रमणमा संलग्न व्यक्ति नै भएको किटान गरिएको छ। तर यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले आन्दोलनकारीलाई उकास्दै सोमबार दिउँसै मृतकलाई निर्दोष भारतीय भन्दै वक्तव्य जारी गरेका थिए।
विज्ञप्तिमा उनले नेपालतिर आउन भारतीय मालवाहक कम्पनीले अझै असुरक्षा महसुस गरिरहेको दाबी गर्दै भनेका छन्, ‘हामीले उनीहरूलाई सावधान रही खतरामा नफस्न सल्लाह दिँदैछौं।' भारतले सतर्कतासाथ परिस्थिति हेरिरहेको वक्तव्यमा उल्लेख छ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भारतीय विदेश मन्त्रालयले सोमबारै वीरगन्ज घटनाबारे स्पष्टीकरण लिएको छ। यसबारे राजदूत उपाध्यायले अन्नपूर्णसँग भने, 'नेपाल वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा राजनीतिक समस्या हल गर्न लागेको छ। भारतसँग कूटनीतिक रूपमा संवाद गर्नुपर्छ।
Post a Comment