बुद्ध जन्मस्थलको पर्दा खुल्दै
काठमाडौं-लुम्बिनी त्यस्तो बगैंचा हो जहाँ मायादेवीले एउटा रुखको हाँगा समातेर सिद्धार्थ गौतमलाई जन्म दिइन् । इशापूर्व ६२३ मा जन्मिएका उनै सिद्धार्थ गौतमले पछि ध्यान र तपस्याबाट बुद्धत्व प्राप्त गरे र भगवान गौतम बुद्ध कहलिए?
बुद्धका उपदेश, जीवनी र जन्मस्थानबारे धेरै अध्ययन–अनुसन्धान गरिए । बुद्ध धर्मका प्रवर्तकका रुपमा उनको नाम र कीर्ति संसारभर फैलियो । लुम्बिनीस्थित मायादेवी मन्दिरको बीचको त्यो ऐतिहासिक रुख भने अहिलेसम्म रहस्यमै छ ।
पछिल्लोपटक लुम्बिनी र तिलौराकोटको पुरातात्विक स्थलको अध्ययनमा संलग्न बेलायतस्थित दुर्हम विश्वविद्यालयका प्राध्यापक रविन कनिङ्घम नेतृत्वको टोलीले त्यो रुख कुन जातको थियो भन्ने पत्ता लगाउन रासायनिक परीक्षण गरिरहेको छ ।
टोलीले त्यो रुख पीपल, अशोक र सालमध्ये एक हुनसक्ने निष्कर्ष निकालिसकेको छ तर लामो प्रयोगशाला परीक्षणपछि मात्र ठ्याक्कै के थियो भन्न सकिने भन्दै सन् २०१२ मा लुम्बिनीबाट लिइएको रुखको जराको अवशेष र माटोको परीक्षण जारी राखेको टोलीले जानकारी दिएको छ । बेलायतको स्टर्लिङ विश्वविद्यालयमा जारी रासायनिक परीक्षणले अबको ६ महिनाभित्र रुखको जात पत्ता लाग्नेमा अनुसन्धानकर्ता ढुक्क छन् ।
कनिङ्घमका अनुसार प्रत्येक पातमा भएका फरक तेल (लिक्विड) एवं रेसाको डाम माटोसँगै रहेका हुन्छन् । त्यस्ता पातका पुराताŒिवक अवशेष अध्ययनले त्यो रुखको पहिचान हुन सक्ने उनको भनाइ छ ।
'हामीले माटोभित्रै थुप्रै पत्र भेटेका छौं,' नागरिकसँग कनिङ्घमले भने, 'मेरा साथी प्राध्यापक इम सिम्सनले माटोको नमुना परीक्षणस्थलमा राखेपछि उनले पत्ता लगाए कि माटोमा रुखका पातका विभिन्न तेलजन्य पदार्थ र पातका रेसाका डाम भेटियो । युरोपका कतिपय अध्ययनमा माटोका भाँडामा पनि पातका रेसाको डाम भेटिइसकेको छ । त्यहीबाट अनुसन्धान थाल्ने निधो गर्यौं ।'
त्यो अनुसन्धानबाट रेसाका डाम अशोक, पीपल र सालजस्ता एकदमै पुराना रुखको गुणसँग मिल्दो रहेको उनीहरुको अध्ययनले देखायो ।
माटोका पुरातात्विक अवशेष यी तीन रुखमध्ये कुनै एकसँग मिल्दो देखिए रुख पहिचान हुनेछ । 'बुद्धसम्बन्धी केही पुस्तकमा त्यो रुखलाई साल भनेर उल्लेख पाइन्छ,' उनले भने, 'अबको ६ महिनाभित्र माटोभित्रको पुराता्विक वस्तुले जुन रुखसम्म लैजान्छ, अनि स्वतः पत्ता लाग्नेछ ।'
अहिलेका यी रुखहरुको विशेषतासँग माटोमा भेटिएको विशेषता दाँज्ने काम भइरहेको उनले बताए । 'हामीले अझै पनि तीनै रुखका विशेषता ल्याबमा केलाउँदैछौं,' उनले भने ।
टोलीमा आबद्ध नेपाली पुरातŒवविद कोषप्रसाद आचार्य रुखको पहिचान गर्न सके लुम्बिनीको इतिहासमा नयाँ आयाम कोरिने बताउँछन् । मायादेवी मन्दिरभित्र पुराताŒिवक क्षेत्रमा रहेको यो रुख पहिचान गर्न प्रविधिले सहयोग गर्ने आचार्यको विश्वास छ । उनका अनुसार प्राचीन समयमा चिनियाँ तीर्थयात्री भारतको नालन्दा अध्ययन गर्न जाँदा लुम्बिनीमा पनि पढ्ने गरेको उनीहरुका वृत्तान्तले यो रुखको ठुटो मात्र बचेको उल्लेख गरेको छ । 'चिनियाँ तीर्थयात्रीको कुराले पनि त्यतिखेरै यो रुखलाई संरक्षण गरेर राखेको भेटिन्छ,' उनले भने, 'तर आजसम्म यस्तो वैज्ञानिक अध्ययन भने भइसकेको छैन ।'
सोही टोलीले बुद्ध जन्मिएको ठाउँ मायादेवी मन्दिरको बीचमा रहेको रुखलाई चारैतिरका सुरक्षात्मक बार (काठको रेलिङ) को 'कार्बन डेटिङ' गरी उक्त संरचना इशापूर्व छैठौं शताब्दीको रहेको प्रमाणित गरेको थियो ।
रुखबारे पत्ता लागे लुम्बिनीको इतिहासमा यही नै सबैभन्दा ठूलो खोज हुने अनुसन्धाताको दाबी छ । लुम्बिनीको उत्खनन र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन ।
टोलीको यो खोजका आधारमा एक सय ३३ वर्ष पुरानो अमेरिकी संस्था 'इन्स्टिच्युट अफ आर्कियोलोजी' ले लुम्बिनीलाई सन् २०१४ मा 'उत्कृष्ट १० पुरातात्विक अन्वेषणस्थल' मा सूचीकृत गरेको थियो ।
मायादेवी मन्दिरभित्र पुरातात्विक अवशेष संकलन गर्दै अनुसन्धाता ।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.