माघ १२, २०७२- विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ । नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात गर्न लागिएको हो । ९० मेगावाट थपिएपछि मुलुकमा लोडसेडिङ दुई घण्टा घट्ने प्राधिकरणका अधिकारीले बताए । अहिले दैनिक १५ घण्टासम्म लोडसेडिङ छ ।
‘ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम यसै साता सम्पन्न हुँदैछ । फेब्रुअरी पहिलो साताभित्रमा उक्त प्रसारण लाइनबाट ९० मेगावाट बिजुली आयात गर्न थाल्नेछौं, त्यसले केही हदसम्म लोडसेडिङ घटाउन मद्दत पुर्याउने छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने ।
हाल प्राधिकरणले भारतबाट २ सय ३५ मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । ९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय २५ मेगावाट पुग्नेछ, जुन हिउँदयाममा मुलुकभरका विद्युत् आयोजनाहरूबाट उत्पादन हुने कुल बिजुलीको हाराहारी हो ।
अन्तरदेशीय प्रसारण लाइन जनवरी पहिलो सातामै सकेर विद्युत् आयात गर्ने लक्ष्य राखिएको भए पनि मधेस आन्दोलन र बन्दका कारण केही ढिलाइ भएको हो । अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली ल्याउन ढल्केबरमा १ सय एमभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन भएपछि भने भारतबाट १ सय ५० मेगावाट बिजुली आयात गरिनेछ ।
तोकिएभन्दा बढी लोडसेडिङ
प्राधिकरणले घोषित समयभन्दा बढी लोडसेडिङ गर्न थालेको छ । दिनको ८ देखि १५ घण्टासम्म लोडसेडिङ गर्दै आएको भनिए पनि तालिकामा तोकिएभन्दा आधा घण्टा पहिल्यै बिजुली जाने र आधा घण्टा ढिलो आउन थालेको छ । प्राधिकरणको यो अघोषित लोडसेडिङका कारण ग्यास अभावमा विद्युतीय चुलो, राइस कुकर, हिटरलगायत इलेक्ट्रिक सामान प्रयोग गर्दै आएका उपभोक्ता थप मारमा परेका छन् । प्राधिकरणले भने एकैचोटि लोड (बिजुली) छाडदा ट्रान्सफर्मर पडकिने समस्या बढ्न थालेपछि प्राविधिक कारणले केही समय अघोषित लोडसेडिङ हुन पुगेको दाबी गरेको छ ।
‘ट्रान्सफर्मर बचाउन र वितरण प्रणाली स्थिर बनाउन समय मिलाएर लोड छाडदा केही समय ढिलो गरी विद्युत् जाने र आउने समस्या देखिएको हो,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘यस्तो समस्या विशेषगरी काठमाडौं उपत्यकामा छ ।’
eKantipur
Post a Comment