मानव मलबाट खाना पकाउने ग्यास

मानव मलबाट खाना पकाउने ग्यास
बिर्तामोड , मंसिर १ । देशभर खाना पकाउने ग्यास अभाव भइरहँदा झापामा मानव मलमूत्र व्यवस्थापन गरी हजारभन्दा बढी परिवारले खाना पकाइरहेका छन्। आफ्नै दिसापिसाब व्यवस्थित गरी त्यसबाटै निकालिएको ग्यासले खाना पकाइरहेका उनीहरूले ग्यास अभाव झेल्नुपरेको छैन। प्राविधिकहरूका अनुसार यस्तो प्रविधि लागू गरिए एलपीग्यासको ५० प्रतिशत माग कम गर्न सकिनेछ। बिर्तामोडको कृषि थोकबजारमा होटल चलाउने विष्णुदेवी पोखरेललाई बजारमा खाना पकाउने ग्यास अभाव भए÷नभएको मतलबै हुन्‍न। छेउमै रहेको सार्वजनिक शौचालयमा विशेष किसिमले बनाइएको बायो ग्यास प्लान्टबाट ग्यासको पाइप ल्याएर उनी खानेकुरा पकाउँछिन्।
११ वर्षअघि मानव मलमूत्रबाट सिर्जित ग्यासले खाना पकाउन सुरु गर्दा उनको होटलमा खाना खान आउनेहरू घिनाउँथे तर अहिले त्यो समस्या छैन। बिर्ता सिटी अस्पतालले पनि सोहीअनुसार ट्वाइलेटका ट्यांकी बनाएर ग्यास उत्पादन गरिरहेको छ। अस्पतालले समेत उपयोग गर्छ अहिले उक्त ग्यास। अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेत भन्छन्, ‘हामीले औजार स्टेरिलाइज गर्नेलगायतका काम यही ग्यासबाट गरिरहेका छौं।’बिर्तामोडका प्रकाशचन्द्र पकुवालले १० वर्षदेखि आफ्नै घरमा दिसापिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन्।
बजारमा खाना पकाउने ग्यास हाहाकार भइरहेका बेला आफ्नै घरमा उत्पादित ग्यासले उनको चुलो बलिरहेको छ। पकुवालले भने, ‘ठाउँ पनि बढी नओगट्ने, बनाउँदा खर्च पनि कम लाग्ने रहेछ।’ घरमा उत्पादित ग्यासका अर्का प्रयोगकर्ता मेघराज कार्की भन्छन्, ‘मेरो परिवारले पनि घरकै ग्यास बालेर खाना खाइरहेका छौं। सबैतिर यो प्रकारको प्लान्ट लगायो भने ग्यास अभावको मार खेप्नु पर्दैन।’ परिवारका सदस्य अथवा उक्त ग्यास प्लान्ट बनाइने भवनमा दिसापिसाब गर्नेहरूको संख्याका आधारमा सानो वा ठूलो किसिमको प्लान्ट लगाउन सकिने बिर्तामोडकै चैतन्यप्रकाश मैनाली बताउँछन्। उनका अनुसार घर बनाउँदै उक्त प्लान्ट लगाउने योजना बनाए राम्रो हुन्छ।
मैनालीले भने, ‘चार घनमिटरको प्लान्टले ६ जनाको परिवारलाई मनग्गे खाना पकाउन ग्यास पुग्छ।’आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा झापामा एक हजारभन्दा बढी यस्ता मानव मलमूत्र व्यवस्थापन गरी बनाइएका प्लान्टबाट निस्केको ग्यासले मानिसहरूले खाना पकाइरहेका छन्। उक्त केन्द्रले २२ वर्षअघिदेखि सुरु गरेको अभियानले अहिले जिल्लाभर तीव्रता पाएको छ। अभियानमा सक्रिय मैनालीका अनुसार यसरी बनाइएको प्लान्ट किफायती हुने गरेको छ। यस्तो प्लान्ट स्थापना गर्दा धेरै सस्तो पर्छ। अाजकाे अन्नपूर्ण पोस्टमा खबर   रहेकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget