ललितपुर, मंसिर १ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपालले पारबहन सुविधा पाउनुपर्ने बताएका छन् ।
कांग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा मंगलबार छठ पर्वका अवसरमा गरिएको शुभकामना एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘भारतले नेपालमा गरेको नाकाबन्दी गलत छ’–भने ।
उनले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहन सुविधालाई कहीँकतैबाट रोक्न नमिल्ने बताउँदै भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गरे ।
उनले मधेस केन्द्रित राजनीतिक दलले आफ्नो माग संसदबाटै लिनुपर्नेमा संविधानसभा छाडेर सडक आन्दोलनमा जानु गल्ती भएको बताए ।
कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले इन्धन अभावका कारण जनताले सास्ती व्यहोर्नुपरेकाले समाधानका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताए ।
सांसद एवं कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीका कार्यकर्ता संवेदनशील भएर समाजको सेवा गर्नुपर्नेमा जोड दिए । रासस
Post a Comment