बर्दिवास, ३ मङ्सिर । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्ने बताउनु भएको छ ।
राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी आउनुभएका भण्डारीले आज बिहान जिल्लाको औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने कुरा उठाई रहे पनि सरकार भने समस्या समाधानको कुरामा बेखबर रहेको आरोप लगाउनुभयो ।
संसद्को अहिलेको संरचनामा मधेस आन्दोलनलाई संविधान संशोधन गरेर समाधान गर्न आवश्यक पर्ने दुई तिहाइको सङ्ख्या नेपाली काँग्रेस वार्तामा नआएसम्म नपुग्ने भण्डारीको भनाइ थियो । पछिल्ला वार्ताबाट काँग्रेस उम्किन खोज्नुले अब निकासका लागि आन्दोलन मात्र विकल्प रहेको भण्डारीले औँल्याउनुभयो ।
मधेस आन्दोलनको चुरो कुरा नै सीमाङ्कनसँग जोडिएकाले सरकार समर्थित दल र काँग्रेस यसमा स्पष्ट हुनैपर्ने भण्डारीको भनाइ थियो । “हामीले चुरेबिनाको मधेस कल्पना नै गर्न सक्दैनाँै भन्दै आएका छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “सरकार सीमाङ्कनका कुरामा बिरालोले मुसा खेलाए झँै आन्दोलनकारीलाई खेलाएर थकाउने रणनीतिमा देखिएको छ, यसले निकास दिँदैन ।”
मुख्य दलहरु सीमाङ्कनका कुरामा चाँडै स्पष्ट नहुने हो भने अब हुने आन्दोलनले सबै मुद्दा आरपार गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । यद्यपि आफ्नो आन्दोलन भने शान्तिपूर्ण हुने पनि उहाँले स्पष्ट पार्नुभयो । रासस
Post a Comment