उपेन्द्र यादवले अग्नी खरेलसँग भनेः प्रधानमन्त्रीलाई भनिदिनुहोला दुर्दशा हुनेछ
काठमाडौं–'निर्णायक' भनिएको बुधबार बेलुकाको वार्तामा नेपाली कांग्रेस अनुपस्थित भएपछि वार्ता सामान्य गफगाफ र चियापानमै सकिने अनुमान गरिएको थियो।
वार्ताको टेवलमा जुटेका मधेसी मोर्चा तर्फका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पूजामा बोलेका कुराको प्रशंग झिक्दै मोर्चाका मागहरु प्रति सरकार लचक हुनुपर्ने तर्क गरे।
मोर्चा तर्फका सदस्य अशोक राईले प्रशंग शुरू गरेका थिए -'प्रधानमन्त्रीज्यूले पूजाको थाली नै बोकेर भन्नु भएको थियो, विश्वाँस त गर्नै परो।' राईले सरकार गम्भीर भएको महसुस गरेर आफूहरु वार्तामा आएको भन्दै माग सम्बोधन गर्न सरकार पक्षीय दलका शीर्ष नेता सहभागी वार्ताको टेवलमा दवाब बढाउन थालिहाले। सोही प्रशंग टपक्क टिपिहाले अर्का नेता उपेन्द्र यादवले–'तर एउटा कुरा छ है,' उनले बोल्ने पालो छोप्दै भने 'छठमा के छ भने, जस्ले छठको थाली उठाएर जे भन्छन् नि, त्यसको विपरितमा गए उसैको दुर्दशा वा दशा लाग्छ है।' नेताहरु गलल्ल..हाँसे। यादव रोकिएनन्, उनले सरकारी वार्ता टोलीका सदस्य अग्नी खरेललाई भने 'अग्नीजी यो कुरा प्रधानमन्त्रीज्यूलाई भन्दिनु होला गएर, सुनाईदिनु होला।'
यादवको संकेत थियो अव सरकार गम्भीर भएन भने प्रधानमन्त्री अोली र अहिलेको सरकारको दुर्दशा हुनेछ।
प्रधानमन्त्री अोलीले छठ पूजाको दिन मंगलबार अाफूले जिद्दी र हठ त्यागेर वार्ता सफल पार्ने बताएका थिए। जिद्दी त्यागेको बताएका प्रधानमन्त्रीको भनाइ स्मरण गर्दै मोर्चाका नेताले माग पूर गर्न अाग्रह गर्दै सरकारले जिद्दी र हठ त्याग्नुपर्ने तर्क अघि सारेका थिए। केहीबेर छफलफ गरेर वार्ता विनानिश्कर्ष सकिएको थियो।
nagariknews
Post a Comment