आन्दोलन झन् कडा हुन्छ : मोर्चा

कार्तिक १६, २०७२- तिहार र छठलाई दृष्टिगत गरी बन्द–हड्तालका कार्यक्रम खुकुलो पार्न जनकपुर उद्योग वाणिज्य संघले गरेको आग्रहलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले अस्वीकार गरेका छन् । उनीहरुले आन्दोलन खुकुलो होइन, अझ कठोर बनाउने बनाउने बताएका छन् । ८०
दिन लामो बन्दका कारण उद्योग व्यावसाय धरासायी भएको उल्लेख गर्दै जनकपुर उद्योग वाणिज्य संघले आज मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर अन्र्तक्रिया गरेका थिए । जउवासंघका अध्यक्ष शिवशंकर साह हीराले पर्व त्यौहारलाई दृष्टिगत गरि बन्द हड्ताल खुकुलो पार्न आग्रह गरेका थिए । उनको आग्रहको प्रतिउत्तरमा मोर्चासम्बद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एक स्वरमा जारी आन्दोलन कुनै पनि हालतमा रोक्न नहुने बरु, अझ सशक्त बनाउन अपिल गरेका थिए । जारी आन्दोलनलाई निर्णायक बनाउन यसको निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै सद्भावना अध्यक्ष महतोले भने, ‘अहिले भएन भने कहिल्यै हुँदैन । हाम्रा शाखा सन्तानले फेरि आन्दोलन गर्न नपरुन भनेर यसलाई निर्णायक बनाउनै पर्छ ।’ मधेसमाथि मधेसीको अधिकार तथा समानताको लागि जारी आन्दोलनमा दु:ख कष्ट हुनु स्वाभाविक रहेको उल्लेख गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले भने– ‘यो आन्दोलन विद्यार्थीको फिस घटाउन भएको होइन । राजनीतिक अधिकार प्राप्तिको लागि हो । यसमा स–साना दु:ख कष्टलाई ख्याल गर्नु हुन्न ।’ स्वायत मधेस प्रदेशको घोषणासँगै यहाँको शिक्षा, स्वास्थ्य, उद्योग व्यावसायलगायतका सम्पूर्ण क्षेत्रमा सुधार आउने दावी पनि उनले गरे । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आइतबार राति वीरगञ्ज नाकामा धर्ना दिइरहेका आन्दोलनकारीलाई लक्षित गरी सुरक्षाकर्मीद्वारा गरिएको बल प्रयोगको घटनालाई गैरलोकतान्त्रिक क्रृयाकलापको संज्ञा दिए । उनले भने, ‘सरकार एकातिर संवाद र सहमतिको नाटक गर्छ अनि अर्कोतिर शान्तिपूर्ण धर्नामाथि बर्बर दमन गर्छ ।’ मोर्चाको आन्दोलन कुनै जाति विशेषविरुद्ध नभई विभेदकारी राज्य संरचना विरुद्ध लक्षित रहेको उल्लेख गर्दै ठाकुरले आन्दोलनलाई शान्तिपूर्ण तथा मर्यादित बनाउन अपिल गरे । ‘आपसी सद्भाव बढाऔं । हामीलाई इतिहासको सिपाही बन्ने सौभाग्य प्राप्त भएको छ,’ उनले भने । ओली नेतृत्वको सरकारलाई माले, मसाले र मण्डले सरकारको संज्ञा दिँदै तमसपा अध्यक्ष महेन्द्र राय यादवले ८० दिन लामो बन्दका कारण मधेसको जनजीवन अस्तव्यस्त भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget