फोटो :चीनबाट रसुवागढी नाका हुँदै पेट्रोल बोकेका ट्यांकर काठमाडौं आउँदै । तस्बिर : देवचन्द्र भट्ट
त्रिशूली, नुवाकोट : उत्तरी छिमेकी चीनबाट रसुवागढी–केरुङ नाका हुँदै नौलाख ५५ हजार लिटर अनुदानको पेट्रोल नेपाल भित्रिएको छ ।
सोमवार थप तीन हजार लिटर पेट्रोल सोही नाकाबाट काठमाडौँ ल्याउन नेपाली ट्यांकरहरु आइतबार काठमाडौबाट रसुवागढी हुँदै केरुङ जाने तयारीमा रहेको नेपाल आयल निगमले जनाएको छ ।
भारतले दुई महिनादेखि गरेको नाकाबन्दीका कारण नेपालीहरुले ठुला पर्वहरु वडादशैं तथा तिहारमा समेत इन्धन अभावको सामना गरिरहेका बेला चीनले अनुदानमा दिएको नौ लाख ५५ हजार लिटर पेट्रोल केरुङबाट नेपाल भित्रिइसकेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
उनका अनुसार सोमबारसम्म सकेसम्म एकैलट तथा दोश्रो लटमा अनुदानको सबै पेट्रोल नेपाल ल्याइसकिने तयारी भएको छ । आइतबार काठमाडौबाट २२ वटा ट्यांकर केरुङ पठाउने तयारी भइरहेको आयल निगमले जनाएको छ ।
पेट्रोल बोकेका ट्यांकरहरु फर्केर रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौ पुग्ने गरेका छन् । चीनले तीन साता अगाडि अनुदानमा नेपाललाई १३ लाख लिटर अर्थात् (एक हजार मेट्रिक टन) पेट्रोल दिएको थियो ।
नेपाललाई अनुदानमा दिएको एकहजार मेट्रिक टन पेट्रोलमध्ये अब ३ लाख ७४ हजार ३ लिटर केरुङबाट ल्याउन बाँकी रहेको आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका ४० वटा ट्यांकरले चीन प्रवेश गर्ने अनुमति पाएका छन् । ती ट्यांकर आलोपालो गर्दै काठमाडौबाट चीनको केरुङ पुगेर अनुदानको पेट्रोल ओसारिरहेका छन् ।
पेट्रोल ढुवानीमा भाषा र सुरक्षाजाँचका कारण ढिलाइ भइरहेको छ । चीन सरकारको अनुदानको तेल ल्याइरहेका ट्यांकर चालकहरुले चीनतर्फ चिनियाँ तथा तिव्वती भाषा र नेपालमा हुने सुरक्षा स्कर्टिङ र चेकिङले छिटो पेट्रोल काठमाडौ लैजान समस्या परेको बताएका छन् ।
रसुवागढीदेखि बेत्रावती रसुवाको नुवाकोटको सिमानासम्म आइपुग्दा सात ठाउँमा चेकिङ गर्ने गरिन्छ । पेट्रोल वोकेका ट्यांकर चालकले सरकारले यसतर्फ तत्काल सोच्नुपर्ने बताउँछन् ।
चीनको पेट्रोल युरो ४ स्ट्यान्डर्ड भएको नेपाल आयल निगमले जनाएको छ । तिहारपछि निगमले एकै लटमा सबै इन्धन नेपाल भित्राउने जनाएको छ । दुई दिन लगाएर ल्हासा हुँदै चीनले केरुङ पेट्रोल ल्याएको हो ।
अब दुई देशवीच इन्धन खरिद विक्रिको लिखित सम्झौता गरिने र त्यसपछि निरन्तर इन्धन आयात गर्न सकिने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले शनिवार जानकारी दिए ।
सडक साँघुरो भएकाले १२ हजार लिटर क्षमता भएको नेपाली ट्यांकरले ७ देखि ९ हजार लिटरका दरले ट्यांकरले वोकेर पेट्रोल आयात गरिहेका छन् ।
अनुदानको पेट्रोल ल्याउँदा रसुवा भन्सारलाई नेपाल आयल निगमले तिर्नुपर्ने ३ करोड ६४ लाख रुपैयाँ राजस्व बुझाइसकेको छ । annapurnapost
Post a Comment