नेपालको पक्षमा उभिए बङ्गलादेश र पाकिस्तान, भारतीय नाकाबन्दीको यसरी गरे विरोध

काठमाडौँ, १० मङ्सिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएका भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले देश र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सङ्कटको सामना गर्न नेपालमा आन्तरिक प्रयास जारी रहेको र यसमा अन्तर्राष्ट्रिय मित्रहरुको समर्थन एवम् सहयोग रहोस् भन्ने नेपाल र नेपाली जनताको चाहना उल्लेख गर्नुभयो ।
भेटमा दुवै देशका राजदूतहरुले नेपालको संविधान निर्माण तथा कार्यान्वयन गर्ने कुरा नेपालको आन्तरिक विषय भएको एवम् नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा उल्लेख गर्नुभयो ।
संविधान जारी एवम् कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानमा देखिएको आन्दोलन एवम् अशान्तिलाई संवाद र वार्ताको माध्यमबाट हल गर्न नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई सफलता मिल्ने विश्वास राजदूतहरुले व्यक्त गर्नुभएको थियो ।
पारवहन अवरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्याप्रति दुवै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्नसमेत दुवै देश तयार रहेको भन्दै वर्तमान परिस्थितिको छिट्टै सहज निकास होस् भन्ने दुवै देशको धारणा रहेको उल्लेख गर्नुभयो ।
पाकिस्तानी राजदूत खोसाले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाइ हुने कुरा व्यक्त गर्नुभयो भने बङ्गलादेशी राजदूत साम्सले सार्क शिखर सम्मेलनमा प्रस्तुत भएको सार्कस्तरीय पारवहन प्रस्तावको चर्चा गर्दै बङ्गलादेश, भुटान, भारत र नेपालबीच निर्वाध पारवहनका लागि उक्त सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो । रासस
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget