फोटो :मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल खन्याएर जलाइएका बब्लु राजवंशी । तस्बिर : कुमार लुइँटेल
बिराटनगर : मोरङको भातिगछ गाविस-७ का २८ वर्षीय बब्लु राजवंशीमाथि मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहीबार पेट्रोल छर्केर आगो लगाएको छ ।
को १ प २४५० नम्बरको मोटरसाइकलमा भारतीय पम्मबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा उनीमाथि भातिगछ–२ रामजानकी चौकमा आगो लगाइएको हो ।
राजवंशीले ल्याउँदै गरेको पेट्रोल खोसेर जिउमा छर्किएर चार-पाँच जनाको समूहमा रहेका मोर्चका युवाहरुले विहान ९ः३० बजेतिर आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।
पेट्रोल छर्केर आगो लगाइएका उनको अवस्था गम्भीर छ । आगोले दुबै खुट्टा जल्नुका साथै छात्ती र गालामा बढी चोट लागेको प्रहरीले जनाएको छ । बायाँ खुट्टा पूरै जलेको छ ।
गम्भीर अवस्थामा कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
अस्पतालमा ल्याउँदा सम्म थोरै मात्र बोल्न सक्ने उनी अहिले बोल्नपनि सक्ने अवस्थामा नरहेको बब्लुका मामा रामबाबु राजवंशीले बताए ।
‘घटनाबारे दुई चार शब्द भन्ना साथ भन्जाको मुखबाट बोलीनै निस्कन सकेन,’ उनले भने । बब्लुले विराटनगर बसपार्क नजिकै मोटरसाइकल ग्यारेज संचालन गर्दै आएका थिए ।
मामा रामबाबुका अनुसार ग्यारेमा मोटरसाइकल बनाउनका लागि आएका ग्राहाकले आफूलाई पेट्रोल आवश्यक परेको बताएपछि बब्लु उनै ग्राहाकका लागि पेट्रोल लिन भातिगछ हुँदै भारतीय पम्ममा पुगेका थिए ।
‘जर्किनमा लिएर आउँदै गर्दा एउटा समूहमा रहेका युवाहरुले रोकेर पेट्रोल मागेछन् । दिन सकिंदैन भन्ने वित्तिकै त्यही पेट्रोल खोसेर जिउमा छर्किदिएर आगो लगाए छन्,’ रामबाबुले भने, ‘स्थानीय बासिन्दा भेला भएर आगो निभाउँदै बब्लुको ज्यान बचाएछन् । आगो ननिभाएको भए ज्याननै जाने थियो ।’
प्रहरीले घटनामा संलग्न तीन जनाको पहिचान भइसकेको जनाएको छ । डीएसपी खरेलका अनुसार भातिगछ-२ का अजय सिंह, जितेन्द्र मुखिया र जुगेश्वर मुखिया समेतको समूहले बब्लुमाथि पेट्रोल छर्किएर आगो लगाएको हो ।
घटना लगत्तै उनीहरु फरार रहेका कारण खोजीका लागि विशेष टोली परिचालन गरिएको खरेलले बताए । उनका अनुसार घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् ।
आगोले पेट्रोल ल्याउँदै गरेको माटरसाइकलमापनि केही क्षति पुगेको छ । पेट्रोलमा सल्किएको आगोका कारण महम्मद कलामको जग्गामा रहेको चिया पसलमा पनि क्षति पुगेको छ । स्थानीय बासिन्दाले आगो निभाएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
.annapurnapost
Post a Comment