हावाको विजुली १५ रुपैयाँमा किनिदिन प्रस्ताव

माघ १२, २०७२- कम्पनीले प्रस्ताव गरेको बिजुलीको मूल्य निजी क्षेत्रबाट प्रबर्द्धित खिम्ती, भोटेकोसी र चिलिमे हाइड्रोबाट विद्युत् प्राधिकरणले खरिद गर्दै आएकोभन्दा धेरै महँगो हो

हावाबाट निकाल्ने बिजुली प्रतियुनिट करिब १५ रुपैयाँ (१४ रुपैयाँ ७० पैसा)मा किनिदिन लगानी बोर्डमार्फत् द गोर्खाज युके नामक कम्पनीले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

कम्पनीले मुस्ताङ जिल्लामा तीन वर्षमा ३ हजार मेगावाट ‘विन्ड इनर्जी’ निकाल्ने योजना अघि सार्दै उक्त मूल्यमा बिजुली किनिदिन प्रस्ताव गरेको हो । मुस्ताङ मुलुकको सबभन्दा बढी हावा चल्ने जिल्ला हो । उक्त जिल्लामा हावाबाट तीन हजार मेगावाटभन्दा बढी बिजुली निकाल्न सकिने अध्ययनले देखाएको छ । विद्युत प्राधिकरणले मुस्ताङमा हावाबाट ५ सय किलोवाट क्षमताको विद्युत आयोजना बनाएको थियो । पोल र पंखा नै उडाइदिएपछि हावाबाट बिजुली निकाल्ने आयोजना अहिले बन्द छ । सम्भाव्यता बढी भएको जिल्लामा कम्पनीले हावाबाट बिजुली निकाल्ने आयोजना बनाउन चासो दिएको हो ।

कम्पनीले लगानी बोर्डमा हावाबाट बिजुली निकाल्ने आयोजनाका बारेमा ब्रिफिङ गर्ने क्रममा हावा बिजुलीको बिक्री मूल्य प्रस्ताव गरेको जानकारी बोर्डका एक अधिकारीले दिए । कम्पनीले हावाबाट बिजुली निकाल्न बढी लागत लाग्ने दाबी गर्दै महँगो दरमा विद्युत् किनिदिन प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बिजुलीको मूल्य निजी क्षेत्रबाट प्रवद्र्धित खिम्ती, भोटेकोसी र चिलिमे हाइड्रोबाट विद्युत् प्राधिकरणले खरिद गर्दै आएको बिजुलीभन्दा धेरै महँगो हो । प्राधिकरणले ती आयोजनाबाट प्रतियुनिट १० रुपैयाँको हाराहारीमा विद्युत् खरिद गर्दै आएको छ । प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँको दरमा भारतबाट बिजुली आयात गर्दै आएको छ ।

कम्पनीले हावाबाट ३ हजार मेगावाट बिजुली निकाल्ने आयोजनाका लागि पोल गाडेर पंखा राख्न, विद्युत गृह बनाउन मुस्ताङमा १ लाख ४६ हजार रोपनी जग्गा उपलब्ध गराइदिनसमेत प्रस्ताव गरेको छ ।

कम्पनीले आयोजनास्थलसम्म पुग्ने सडक र प्रसारण लाइनको निर्माण सरकारले नै बनाइदिनुपर्ने शर्त राखेको छ । सडक र प्रसारण लाइन निर्माण गर्न ५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान सरकारको छ । लगानी बोर्ड कम्पनीको प्रस्तावप्रति विश्वस्त हुन नसकेको जानकारी बोर्डका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार बोर्डले कम्पनीलाई आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउने आधार र प्राविधिक प्रस्ताव पेस गर्न दुई महिनाको समय दिएको छ । वित्तीय तथा प्राविधिक प्रस्ताव चित्तबुझो भएमा बोर्डले द ब्रिटिस गोर्खाज युकेलाई आयोजना अघि बढाउन अनुमति दिने र चित्त बुझो नभएमा उसले लगानीका लागि दिएको निवेदन खारेज गरिदिनेछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget