अत्यावश्यक र जीवनरक्षक औषधिसमेत १५/२० दिनका लागि मात्रै ‘स्टक’ भएपछि नेपाल औषधि व्यवसायी संघले नयाँदिल्ली र मुम्बईबाट खरिद गरी नेपाल एयरलाइन्सको विमानबाट औषधि आयात गर्न लागेको हो। नाकाबन्दीका कारण वीरगन्ज—रक्सौल सीमा र विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयमा औषधि अलपत्र परेपछि मुलुकभर औषधि अभाव भएको छ।
वीरगन्ज—रक्सौल सीमामा थन्किएका करोडौं मूल्यका साढे तीन सय ट्रक औैषधि नेपाल ल्याउन सरकारले चासो नदेखाएपछि बाध्य भएर हवाईमार्गबाट औषधि आयात गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए। 'असहज अवस्थाले औषधि अभाव हुँदा मानिसको ज्यान जाने जोखिम बढिसक्यो।
भएका औषधि पनि ढुवानी गर्न सकिएको छैन,' श्रेष्ठले आइतबार अन्नपूर्णसँग भने, 'त्यसैले महँगो मूल्यमा हवाईमार्गबाट औषधि आयात गर्न हामी बाध्य भएका छौं।' उनका अनुसार नेपाल एयरलाइन्सबाट दैनिक औषधि आयात गर्ने विषयमा भएका वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले छिट्टै अर्को वार्ता गरी औषधि आयात गरिनेछ।
संघले यतायात मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर एक साताभित्र औषधि ल्याउने तयारी गरिरहेको छ। संघले एप्रोपिन, इन्सुलिन, पोटासियम, सीसीयू, आईसीयू, पीसीयू, स्नेस्थेसिया, कार्डियोलगायत अत्यावश्यक जीवनरक्षक औषधि ल्याउन लागेको हो।
वीरगन्ज-रक्सौल सीमामा थन्किएका करोडौं मूल्यका साढे तीन सय ट्रक औैषधि नेपाल ल्याउन सरकारले चासो नदेखाएपछि बाध्य भएर हवाईमार्गबाट औषधि आयात गर्न लागिएको हो।
सरकारी स्वास्थ्य संस्थामा समेत औषधि अभाव भएपछि संघले औषधि आयातमा चासो देखाएको छ। सरकारी संस्थाले पनि संघले आयात गरेको औषधि खरिद गर्दै आएको थिए। मासिक एक अर्बदेखि ती अर्ब रुपैयाँसम्मको औषधि आयात हुँदै आएकोमा नाकाबन्दीका कारण दुई महिनादेखि आयात ठप्प छ।
'वर्षमा हामीले मेडिकल उपकरणसहित ३० अर्ब रुपैयाँबराबरको औषधि भारतबाट आयात गर्छौं,' श्रेष्ठले भने, 'नाकाबन्दीका कारण औषधि खरिद, आयात र वितरणमा ठूलो असर परेको छ।'व्यवसायी मात्रको एकल प्रयासले औषधि आपूर्ति र वितरण र उपलब्धता प्रभावकारी बनाउन कठिनाइ भएको संघको भनाइ छ।
नाकाबन्दीका कारण तराईका जिल्लाका स्वास्थ्य केन्द्रमा औषधिसँगै खोपको समेत अभाव भएपछि लाखौं बालबालिका प्रभावित बनेका छन्। वीरगन्ज-रक्सौल नाकामा थन्किएका औषधि ल्याउन सरकारले पहल नगर्दा औषधिको गुणस्तरीयतामा प्रश्न उठेको छ।
ट्रकमा थन्किएका एन्टिबायोटिक, सुई, झोल, औषधि निरन्तर एउटै तापक्रममा रहँदा बिग्रने सम्भावना बढी रहने औषधिविज्ञहरू बताउँछन्। एक महिनाअघि रक्सौलको तापक्रम धेरै परिवर्तन भएकाले औषधि बिग्रने सम्भावना धेरै रहेको औषधिविज्ञ बाबुराम हुमागाईंले बताए।
औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले आफूहरूको पहलमा थन्किएका औषधि आयात गर्न नसकिने बताए।'हाम्रो प्रयास असफल भएको छ,' उनले भने, 'सरकारका उच्च अधिकारी र गृह मन्त्रालयबाटै पहल हुनुपर्छ।'
सरकारले औषधि वितरणका लागि विक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको श्रेष्ठले बताए ।
annapurnapost
Post a Comment