भारतबाट साना हतियारको तस्करी

२०७२ कार्तिक २९ आईतवार


सुरक्षा बैठक
काठमाडौं: सुरक्षा निकायका प्रमुखहरूले भारतीय नाकाबन्दीका कारण नेपाल-भारत सीमा क्षेत्रबाट साना हतियारको तस्करी नेपालतिर बढेको र त्यसले कानुन व्यबस्थामा गम्भीर असर पर्न सक्ने चेतावनीयुक्त सूचना दिएका छन्।


शनिवार विहान ११ बजे गृहमन्त्रालयमा भएको बैठकमा उनीहरुले गृहमन्त्री शक्ति बस्नेतलाई सीमा क्षेत्रमा हतियारसँगै लागूपदार्थको तस्करी समेत बढेको जानकारी दिएको उच्च सुरक्षा स्रोतले बतायो। भारतीय नाकावन्दी र मधेशकेन्द्रीत दलको आन्दोलनले अस्तव्यस्त भएको जनजीवनबारे सुरक्षा निकायको सूचनापछि गृहमन्त्रीले ती क्षेत्रमा सुरक्षाफौज बढाएउन निर्देशन दिएका छन्।

तीनवटा सुरक्षा निकायले तराईमधेसको पछिल्लो सुरक्षा अवस्था र त्यहाँ चलिरहेको आन्दोलनबारे शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई रिपोर्टिङ गरेका थिए। रिपोर्टिङका क्रममा सुरक्षा निकायका प्रमुखले भारतीय नाकाबन्दी र खुला सीमाको फाइदा उठाउँदै हतियार र लागूपदार्थका तस्करहरू सक्रिय रहेको बताएका थिए।

बैठकमा गृहमन्त्री बस्नेतले नेपाल-भारत सीमा क्षेत्रबाट साना हतियार, लागू पदार्थ, इन्धनलगायतको तस्करी रोक्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले मुलुकको समग्र सुरक्षा अवस्था, आपूर्ति व्यवस्था सहज बनाउने विषय र नेपाल–भारत सीमा क्षेत्रमा चलिरहको आन्दोलनबारे बैठकमा छलफल भएको बताए।

बैठकमा गृहमन्त्री बस्नेतसहित गृहसचिव सूर्यप्रसाद सिलवाल, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी र सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलगायतका सुरक्षा अधिकारी सहभागी थिए।सुरक्षा प्रमुखहरूको रिपोर्टिङपछि गृहमन्त्री बस्नेतले सीमा क्षेत्रको सुरक्षामा बढी जोड दिन र त्यस क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति बनाउन निर्देशन दिएका थिए।

मोर्चाका प्रभावशाली नेताकार्यकर्ताको निरन्तर सम्पर्कमा रहेका र आन्दोलनलाई सहयोग गर्ने सर्तमा तस्करले अवैध गतिविधि गरिरहेको सुरक्षा निकायको निष्कर्ष छ। तस्कर र अवैध कारोबारमा मोर्चाका कार्यकर्ताहरूको समेत संलग्नता रहेको पनि सुरक्षा निकायको निचोड छ।

तस्करहरूले सीमा क्षेत्रमा आन्दोलनरत मोर्चाका स्थानीय नेतालाई मोटो रकम बुझाएर इन्धन, लत्ताकपडा, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीसमेत भित्र्याएको स्रोतले बतायो । आन्दोलनकारी र तस्करबीचको सम्बन्ध र साँठगाँठको विषयलाई लिएर पनि बैठकमा छलफल भएको थियो।

मन्त्री बस्नेतले तराईमधेसमा चलिरहेको आन्दोलन र त्यस क्षेत्रको सुरक्षा अवस्थालाई लिएर संवेदनशील हुन पनि सुरक्षा निकायलाई निर्देशन दिए।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget