काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका लागि नेपाली राजदुत डा. महेश मास्केले भेटघाट गरेका छन् । आइतबार विहान उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भएको भेटमा डा. मास्केले चीनबाट इन्धन ल्याउन भइरहेको प्रयासको प्रगतिबारे उपराष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेटहरु केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकोले तातोपानी नाकाबाट ल्याउने कोशिस भइरहेको बताए । नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको मास्केले जानकारी गराएका थिए ।
‘चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो साँघुरो भएकोले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामाग्री केरुङबाटै ल्याउँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव राखेका थियौँ, उपराष्ट्रपतिसँग मास्केले भने, ‘आज विहानमात्रै चिनियाँ राजदुतसँग भेट भयो, उहाँले खासामा नरोकेर ग्यासको बुलेट सिधै पाँचखाल ल्याउन सकिने धारणा राखेर पाँचखालमा ‘ज्वाइन्ट कस्टम’ स्थापनाको प्रस्ताव राख्नुभयो ।’
राजदुत मास्केले पाँचखालमा चीन र नेपालको संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याउने चीनको प्रस्ताव सकारात्मक भएको भन्दै संयुक्त भन्सार स्थापनाका लागि पहल गर्न उपराष्ट्रपतिसँग आग्रह गरे ।
उनले काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र बनाउने सरकारले घोषणा गरिसकेको अवस्थामा सो ठाउँलाई चाँडो विशेष आर्थिक क्षेत्रमा विकास गरेर चीनले धेरै सहयोग गर्न सक्ने अवस्था रहेको जानकारी गराउँदै पहल गरिदिनुहुन उपराष्ट्रपतिलाई आग्रह गरे ।
भेटमा उपराष्ट्रपति पासाङले पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यास उपलब्ध गराउने प्रस्ताव सकारात्मक भएको बताउनुहुँदै आफूले सक्दो पहल गर्ने बताए । उहाँले पाँचखाललाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्न सरकारलाई घचघच्याउने बताएका थिए ।
राजदुत मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक संझौता भइसकेकोले व्यापारिक संझौताको अन्तिम तयारी भइरहेको जानकारी गराए । उनले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेकाले निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकोले व्यापारिक संझौता हुन केही ढिला भइरहेको जानकारी गराए ।
‘तिहारलगतै इन्धन खरिदका लागि व्यापारिक संझौता गर्ने कुरा थियो, चीनले अहिलेसम्म इन्धन किनेको छ, बेचेको छैन । बेच्नका लागि केही नियम बनाउनुपर्ने भएकाले केही ढिला भइरहेको छ,’ राजदुत मास्केले भेटमा भने, ‘नेपालले इन्धन खरिद गर्दा नेपाल चीनबाट इन्धन खरिद गर्ने पहिलो मुलुक हुनेछ । केही दिनमै व्यापारिक संझौता हुन्छ ।’
khabardabali
Post a Comment