कावासोती, ३ मङ्सिर-
अनुकूल मौसम र किरा नलागेका कारण यस वर्ष नवलपरासीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
अघिल्ला वर्षमा सुन्तलाको फूल फुल्ने र फल लाग्ने समयमा असिना पानी परेर क्षति पु¥याउने गरेको भए पनि यो वर्ष त्यस्तो नभएकाले सुन्तला उत्पादन बढ्ने भएको हो । सुन्तलाको फलमा लाग्ने रोग किरासमेत यो वर्ष कम लागेको किसानको भनाइ छ ।
“रोग किराको प्रकोप कम भएकाले अघिल्ला वर्षको तुलनामा बढी फल्ने देखिन्छ” जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत बालगोविन्द त्रिपाठीले भन्नुभयो । यस वर्ष करिब ३३५ मेट्रिक टन सुन्तला उत्पादन हुने उहाँको अनुमान छ । गत वर्ष ३२५ मेट्रिक टन र त्योभन्दा अघिल्लो वर्ष ३०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लामा ५६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जौवारी, डाँडाझेरी, कोटथर, रतनपुर, भारतीपुर, अर्खला गाविस सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । कृषि विकास कार्यालयले परम्परागत रुपमा सुन्तला खेती हुँदै आएका यी गाविसका किसानलाई बिरुवा रोप्नेदेखि उत्पादन लिने बेलासम्म स्याहार गर्ने तालिम दिएपछि यी क्षेत्रमा सुन्तला उत्पादन बढेको हो ।
सुन्तला विकास महानिर्देशनालयबाट सुन्तला खेतीकै लागि पनि जिल्लामा केही बजेट आउने गरेको छ । क्षेत्र विस्तारअन्तर्गत यस वर्ष जिल्लाको रतनपुर र कोटथर गाविसमा तीन हजार ६०० सुन्तलाको बिरुवा रोपिएका बागवानी अधिकृत त्रिपाठीले जानकारी दिनुभयो । रासस
etajakhabar
Post a Comment