प्रधानमन्त्रीले भने, भारतले अग्रिम भुक्तानीको तेलसमेत दिएन, चीनलाई धन्यवाद् !


आन्दोलन स्थगित गरेर वार्तामा आउन मधेसी दललाई आग्रह
काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मुलुकमा युद्धको बेलामासमेत हुन नहुने खालको संकट पैदा भएको बताएका छन् । आईतबार साँझ राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले लगाएको अघोषित नाकाबन्दीले भूकम्पले थिलथिलिएको नेपाललाई थप संकटपूर्ण अवस्थातर्फ घकेलेको बताए ।

‘अघोषित नाकाबन्दीबाट युद्धको बेलामासमेत हुन नहुने खालको संकट आईपरेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो थोरै मात्र मानवीय समवेदना भएको कसैले पनि गर्न सुहाउने कुरा होइन ।’

साथै प्रधानमन्त्री ओलीले पहिले नै भूक्तानीको इन्धनसमेत नेपाल आउन नसकेको भन्दै दु:ख व्यक्त गरे । केही नाकामा देखिएको अवरोधको बहाना बनाएर अन्य नाकाबाटसमेत पेट्रोलियम पदार्थ नपठाउनु गम्भीर भएको उनको भनाई थियो ।

यद्यपी प्रधानमन्त्री भारतसँगको सम्बन्धमा देखिएको तित्कता अन्य भएर छिट्टै पूर्ववत अवस्थामा आउने विश्वास व्यक्त गरे ।

साथै उनले संकटको समयमा अनुदानमा पेट्रोल उपलब्ध गराएकोमा मित्रराष्ट्र चीनलाई धन्यावाद दिए । चीनसँग व्यवसायिक सम्झौता गरेर पेट्रोलियम पदार्थ ल्याउन सरकारले पहल गर्ने भन्दै उनले चीनसँग जोडिने सडकहरुको स्तरोन्नती गरिने बताए । यो कुनै देशप्रति लक्षित नभएर नेपालको अन्तराष्ट्रिय व्यापारलाई सन्तुलित बनाउने कदम भएको उनको भनाई छ ।

 आन्दोलन स्थगित गरेर वार्तामा आउन मधेसीलाई अपील

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन स्थगित गरेर वार्तामा आउन मधेसी दलहरुलाई अपील गरेका छन् ।

तराई-मधेस विषय पनि सारा नेपालीको साझा विषयको भन्दै त्यसको उचित सम्बोधन गर्नु सरकारको जिम्मेवारी भएको प्रधानमन्त्रीको भनाई थियो ।

संबोधनका क्रममा उनले नेपालको विकासमा इन्जिनको भूमिका खेल्ने तराईमा जारी आन्दोलनप्रति पुनर्विचार गर्न मधेसी दलहरुलाई आग्रह गरे । तराई-मधेसमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ४७ जनाको मृत्यु भइसकेको भन्दै प्रधानमन्त्रीले दु:ख व्यक्त गरे ।

 भूकम्प पीडितलाई दुई लाख

प्रधानमन्त्रीले भूकम्पले आवासबिहीन भएका नागरिकहरुका लागि उपलब्ध गराउने भनिएको २ लाख रुपैयाँको पहिलो किस्ता तुरुन्तै उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यसअघि नै घोषणा भए अनुरुपप्रति परिवार २ लाख रुपैयाँ प्रदान गरिने उनको प्रतिवद्धता छ । साथै प्रधानमन्त्री ओलीले आवासका लागि स्थानीय वित्तिय संस्थाबाट सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा पनि गरे ।

 एक वर्षमा लोडसेडिङ अन्त्य

प्रधानमन्त्री ओलीले १ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने पूर्वप्रतिवद्धतालाई पनि दोहोर्याए । त्यसका लागि निर्माणाधिन जलविद्युत आयोजना र विस्तार भइरहेका प्रशारण लाईनलाई छिट्टै सम्पन्न गर्ने र एक वर्षभित्र सौर्य उर्जाबाट कम्तिमा २ सय मेघावाट विद्युत उत्पादन गरिने प्रधानमन्त्रीको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget