राहतको चामलमा किरा

म्याग्दी, २ पुस । म्याग्दीमा सात महिनादेखि थन्किएको राहत सामग्री वितरण गर्न ढिलाइ हुँदा नष्ट हुने अवस्थामा पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बेवास्ताका कारण खाद्यान्न र लत्ताकपडालगायतका राहत सामग्री वितरण हुन नसक्दा नष्ट हुन थालेको हो । जिविस र प्रशासनको गोदाममा रहेको चामल र दालमा किरा परेको छ । चामलमा घुन, चिलेसा र स–साना किरा देखिन थालेको छ ।
वैशाख १२ गतेका भूकम्पपीडित र बर्खा मौसममा पहिरोपीडितलाई वितरणका लागि भनेर रुपन्देहीको राहत भण्डारण गृहबाट गत जेठमा दुई चरणमा प्राप्त भएको राहत सामग्री अझै वितरण हुन सकेको छैन । गोदाममा ५८ बन्डल त्रिपाल, एक हजार ६९० थान ब्लाङ्केट, १५० थान बेड कभर, ६०० थान कम्बल, ५० केजीको १३ बोरा दाल, १०२ बोरा चामल, सात बोरा नुन, ३९ थान डसना र दुई बोरा चिनी राखिएको थियो ।
बढ्दो चिसो, महँगी र नाकाबन्दीले गर्दा बिहान बेलुका हातमुख जोर्न कठिनाइ भएको अवस्थामा सरकारी गोदाममा रहेका सामग्री कुहिन र सड्नु दुःखद भएको पीडित बताउँछन् । “भूकम्पले चर्काएको घर बर्खामा पहिरोले लडायो । बारीमा गोठ बनाएर बसेका छौँ । बिहान के खाने बेलुका के खाने भन्ने चिन्ता छ”, ओखरबोट– ९ का पहिरोपीडित लालबहादुर विकले भन्नुभयो – “कुहाउनुभन्दा हामीलाई दिए राहत मिल्ने थियो ।”
हालसम्म ५६ बन्डल त्रिपालमात्रै पीडितलाई वितरण गरिएको छ । समयमै वितरण नहुँदा ३० कार्टुन बिस्कुट र तीन बोरा भुटेको चनाको म्याद सकिसकेको छ । तीन बोरा भेली खराब भएपछि नष्ट गरिएको थियो । बर्खायाममा पहिरोपीडितको व्यवस्थापनका लागि जगेडा राखिएको सामान बर्खा सकिएलगत्तै भएको नाकाबन्दीका कारण उत्पन्न ढुवानीको समस्या, भूकम्पपीडित परिचयपत्र वितरणमा ढिलाइ हुनुजस्ता कारणले पीडितलाई उपलब्ध गराउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले बताउनुभयो ।
भूकम्पपीडित परिचयपत्र पाएकालाई एक हप्ताभित्र नै राहत सामग्री वितरण गरिसक्ने चोखालले बताउनुभयो । म्याग्दीमा भूकम्पबाट २०० घर पूर्णरुपमा क्षति भएको र एक हजार ५०० मा आंशिक क्षति पुगेको तथ्याङ्क छन् । यसैगरी बैसरी, ओखरबोट, मुनाको दर, मुदीलगायतका ठाउँमा ३०० बढी घरधुरी पहिरोपीडित छन् ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget