काठमाडौं, २ पुस
नेपाल वायुसेवा निगमका लागि चारवटा जहाज खरिद गर्न प्राविधिक टोली बिहीबार चीन जाने भएको छ।
सरकारले खरिद गरेर नेपाल वायुसेवा निगमलाई दिने दुईवटा एमए ६० र दुईवटा वाई १२ ई जहाज किन्नु अघि प्राविधिक अध्ययन गर्न टोली चीन जान लागेको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ। चिनियाँ जहाज उडाएर नाफा गर्न नसक्ने निष्कर्ष आइसकेको अवस्थामा सरकारले चिनियाँ जहाज भित्र्याउन हतार गरेको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक टोली सोही जहाज निरीक्षणका लागि चीन जान लागेको हो। टोली सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एक र वायुसेवा निगमका तीन जना छन्।
प्राविधिक टोलिले चिनियाँ जहाजको बनोट र यसको क्षमता तथा यस अघि देखिएको प्राविधिक कमजोरीका विषयमा अध्ययन गरेर सोको प्रतिवेदन सरकारलाई उपलब्ध गराउने भएको छ। यही प्रतिवेदनका आधारमा जहाज खरिद गरेर नेपाल ल्याउने प्रक्रिया अगाडि बढ्ने जानकारी मन्त्रालय स्रोतले दिएको छ।
यस अघि सरकारले एमए ६० र वाई १२ नामक १-१ जहाज चीन सरकारको अनुदानमा ल्याइसकेको छ। अनुदानमा ल्याएका जहाजले नेपालको भू-बनोट अनुसार उपयुक्त नभएको, बारम्बार बिग्रिरहने, समयमै मर्मत गर्न चीनले आवश्यक सहयोग तत्काल नदिएको, जहाजलाई आवश्यक पर्ने प्रशिक्षक पाइलट उपलब्ध गराउन नसकेको र जहाजको बिमा रकम पनि निकै उच्च भएकोले चिनियाँ जहाज उडाएर नाफा गर्न नसक्ने निष्कर्षमा वायुसेवा निगम पुगेको थियो।
निगमले सोही निष्कर्ष पर्यटन मन्त्रालयमार्फत सरकारलाई जानकारी गराएर थप जहाज नल्याउन पनि आग्रह गरेको थियो।निगमले भोगेको समस्यालाई सम्बोधन गर्ने र जहाजको क्षमता परीक्षण गरेर मात्रै थप जहाजको टुंगो लगाउने भन्दै आचार्यकै संयोजकत्वमा एक समिति पनि बनेको थियो।
सोही समितिले दुई पक्षीय सरकारी सम्झौता भैसकेको र यस अघि निगमको टोलीले गरेको निरीक्षण तथा तयार पारेको प्रतिवेदन वास्तविक किन हुन सकेन भन्दै निगम पदाधिकारीलाई नै प्रश्न गरेको थियो।
समितिले पुनः क्षमता परीक्षण गरेर नेपालका लागि उपयुक्त भएमा मात्रै थप जहाज ल्याउन सकिने निष्कर्ष निकालेको भए पनि फेरि जहाजको प्रविधिक पक्ष निरीक्षण गर्न जानुले जहाज ल्याउने वातावरण मिलाउन लागिएको मन्त्रालयकै एक उच्च अधिकारीको भनाइ छ।
अन्नपूर्ण पोष्ट दैनिकबाट
.etajakhabar
Post a Comment