सन्दर्भ नारी दिवसः थापाथलीकी ‘कडा’ महिला ट्राफिक प्रहरीसँग जम्काभेट

सुजन पन्त
ललितपुरदेखि काठमाडौंको सुनधाराको यात्राको क्रममा माइक्रो चालकहरुको मुखबाट धेरै पटक सुनिएको एउटा वाक्य थियो, ‘यी थापाथलीका महिला ट्राफिकहरु त साह्रै कडा छन् । सानो गल्ती भयो भने पनि छाड्दैनन् ।’ दैनिक यात्राको क्रममा उनीहरुको कुरा सुन्दा सुन्दा मेरो मनमा पनि त्यही छाप बसिसकेको थियो । संयोगवस महिला दिवसको अवसरमा त्यही थापाथलीकी कडा महिला ट्राफिकसँग कुराकानी गर्ने अवसर प्राप्त भयो ।
जब म थापाथली पुगे, त्यहाँ तीन जना महिला ट्राफिक प्रहरीहरु ड्युटीमा थिए । तिखो स्वरमा सिट्टी फुक्दै सवारी साधनहरुलाई यताउता जान निर्देशित गरिरहेका थिए । सबैजना सडकको बीचमा बसेर आफ्नो काम गरिरहेका थिए । केही बेर कोसँग कुरा गर्ने भन्ने अन्यौलमा बित्यो । बीचैमा गएर कुरा गर्दा कडा भनिएकी ट्राफिक प्रहरीहरु रिसाउने त होइनन् भन्ने दुविधा पनि कायम रह्यो । त्यही अन्यौलका बीचमा एक जना महिला ट्राफिक प्रहरी बाटोको छेउतिर आइपुगिन् । म पनि हत्तनपत्त उनीतिर अघि बढेर प्रश्न सोध्न तम्सिए ।

शुरुमा त के भनेर सम्बोधन गर्ने भन्ने भयो । अनि मुखबाट निस्कयो, दिदी । सायद उनले सुनिनन् होला या त्यत्रो भीडमा कसलाई दिदी भनेको पत्तै भएन, उताबाट जवाफ नै आएन । मनमा लाग्यो, कडा भन्थे नबोल्ने पो होकी । अलि नजिक गएँ र फेरि कराएँ, दिदी । बल्ल उनले सुनिन् र पछाडि फर्केर हेरिन् ।
मैले भने, ‘दिदी एकै छिन् कुरा गर्नुछ ।’
‘किन ?’, जवाफ आयो ।
‘म पत्रिकाबाट हो । नारी दिवसको अवसरमा तपाईंसँग केही कुरा गरौं भनेर आएको,’ मैले भनें ।
केही बेर अघिसम्म मेरो मानसपटलमा कडा महिला ट्राफिक प्रहरीको छाप बनाएकी उनी त अन्य समान्य महिला झैं लजाइन् । अनि तर्किंदै भनिन्, ‘कहाँ यहाँ बाटोको बीचमा कुरा गर्ने ?’
मैले भने, केही हुन्न । एकै छिनमात्र हो ।
अफिसमा आउनुभएको भए पनि अर्को कुरा हुन्थयो, उनले भनिन्, यहाँ त सबैले हेरिरहेका छन् । मलाई त अप्ठ्यारो लाग्छ ।
‘ओहो, कुरा गर्न पाइँदैन कि क्या हो ?’ मनमा यही कुरा खेल्यो । आफ्नो उद्देश्य पूरा नहुने देखेर हत्तपत्त संवादलाई अघि बढाउन मैले उनको नामको ट्याग हेर्दै भने, हजुरको नाम रिता अधिकारी रहेछ है । घर कता हो ?
उनले जवाफ दिइन्, ‘धादिङ’ । म भने यता कुराकानी रेकर्ड गर्नलाई मोबाइल झिक्न थाले । मोबाइल देख्ने बित्तिकै उनी अत्तालिइन् र भन्न थालिन्, ‘भिडियो चाँही रेकर्ड नगरौं न । अप्ठ्यारो लाग्छ । मैले भने, हैन दिदी बोलीमात्र रेकर्ड गर्ने हो । भिडियो होइन ।’ अनि बल्ल उनी अलि शान्त भइन् ।
सानैदेखि प्रहरीको वर्दी देखेर ‘म पनि यस्तै हुन्छु ’ भनेर सपना बोकेकी धादिङ रिता अधिकारीले एसएलसी दिने बित्तिकै एघार पढ्दा पढ्दै प्रहरीमा जागिर खान शुरु गरिन् । अहिले जागिर खाएकै पाँच वर्ष पुगिसकेछ । बाल्यकालबारे सम्झँदै उनले भनिन्, वर्दी लगाएर प्रहरीहरु हिँड्दा मलाई पनि त्यस्तै बन्छु जस्तै लाग्थ्यो । अन्त्यमा आफ्नो सपना पूरा गरेर छाडे ।
सपना त पूरा भयो तर त्यसले उनको पढाईमा असर गर्यो । धेरै पढ्छु भन्ने उनको अर्को सपनामा भने ठेस लाग्यो ।
‘अझै पनि ब्याक दिँदै बसिराखेको छु,’ अलिकति मलिन स्वरमा उनले भनिन् । चाँडै जागिर नखाएर पनि के गर्नु आफ्नो भाईको जिम्मेवारी थियो रितामाथि । अहिले बालाजुमा ३ हजारको कोठा लिएर भाईसँग बस्छिन् र आफ्नो कमाईले जसोतसो दिदीभाईलाई पुर्याउँछिन् ।
‘यस्तो महंगीमा पुग्छ र तपाईंको कमाईले मात्र ? कति कमाउनुहुन्छ महिनामा ?,’ मैले सोधे । उनले कति कमाउँछु त भनिन् तर आफ्नो कमलाईले ‘पुर्याए पुग्ने ’ जवाफ दिइन् ।
यसअघि सोह्रखुट्टेमा ड्युटी रहेको उनको थापाथली आएको ६ महिनाजति भएको रहेछ । दैनिक १० घण्टासम्म काम गर्नुपर्ने उनले दिनको दुई सिफ्टमा काम गर्ने बताइन् । कहिले ६ बजे बिहान १० बजेसम्म र फेरि ३ बजे देखि ८ सम्म ड्युटी हुन्छ । राउण्ड हेरेर राती ११ बजेसम्म पनि काम गर्नुपर्छ, रिताले भनिन् । दिनभरकाम गरेपछि राती थकानले चुर शरीर एकै छिनमै निद्राको कोखमा पुग्ने उनले बताइन् ।
रातीसम्म डर लाग्दैन तपाईंलाई ?, मैले प्रश्न गरें ।
के के डर ?, उनले भनिन्, म एक्लै हुँदिन । तर, एक्लै भए पनि डर भने लाग्दैन । ड्युटी भएको दिन उनी प्रहरी ब्यारेकमै बस्छिन् । अरु दिन भने भाईसँग बालाजुको कोठमा बस्न जान्छिन् ।
थापाथलीमा प्रायः महिला ट्राफिक प्रहरीहरु मात्र छन् । उनले भनिन्, हामीबीच सहकर्मीभन्दा पनि दिदी बहिनीको जस्तै सम्बन्ध हुन्छ । कसैले घरबाट केही खानकुरा ल्यायो भने पनि एक अर्कामा बाँड्ने एक अर्काबीच धेरै माया छ ।
आफ्नो कामलाई माया गर्छन् उनी तर काम गर्ने सिलसिलामा गाडी र हर्नको चर्को अवाजबीच दिनभर बिताउनुपर्दा कहिलेकाहीँ निकै झर्को पनि लाग्छ । ‘कहिलेकाहीँ त कोही बोल्यो भने पनि रिस उठ्छ । शान्त भएर बस्न पाउँ जस्तो पनि लाग्छ,’ आफ्नो कामको दुःख पोख्दै उनले भनिन् । हुन पनि ट्राफिकको काम कहाँ सजिलो छ र ? धुवाँ धुलोको बीचमा दिनभर बिताउँदै स्वास्थ्यमा पनि असर गर्ने उनले बताइन् । धन्न अहिलेसम्म ठूलो बिरामी भएकी छैन । रुघा खोकी सामान्य भइसकेको छ, उनले भनिन् । तैपनि उनी कहिले जुलुस देख्दा, झाँकी देख्दा पनि रमाउने गर्छिन् । गाडीको लामसँग सँधै जुध्ने उनी मानिसको लाम देख्दा आनन्द मान्छिन् । यति सरल छ उनको जीवन । के गर्ने हामीले काम गर्ने दर्जा नै यही हो । हाम्रा ठूला हाकिम पनि रोडमा खटिन्छन् । आफ्नो कर्तव्य पूरा गर्नैपर्छ, रिताले बताइन् ।
धेरै बेरको कुराकानी पछि मेरो मनमा सँधै खेलिरहेको प्रश्न गरें, तपाईंहरु त साह्रै कडा हुनुहुन्छ भन्छन् नी ।
मेरो प्रश्न सुनेर उनले लामो हाँसो छाडिन् र ‘कडा’ ट्राफिक प्रहरी नभई एक सामान्य नारीले प्रस्तुत गर्ने लज्जाको भाव प्रस्तुत गर्दै भनिन्, कहाँ हेप्नु ? व्यवहारमा हेप्ने हुँदैन । सानो रोड भएको हुँदा जाम हुन्छ । वहाँहरुलाई पनि हतार हुन्छ । हामीले पनि ड्युटी गर्नैपर्छ । त्यति बेला चाहीँ कोहीलाई हामी अलि खरो स्वभाव भएको लाग्छ होला ।
आज नारी दिवस हो भन्ने बारे उनले सुनेकी त छिन् तर त्यसका लागि उनी कहिले कुनै कार्यक्रममा भाग लिएकी छैनन् ।
उनका लागि लागि आफ्नो काम र कर्तव्य कै ध्यान छ । र त नारी दिवसमा के भन्न चाहन्छु भन्नुहुन्छ भन्ने प्रश्नमा उनी सोझो उत्तर दिन्छन्, ‘सबैलाई आफ्नो नियम र कर्तव्य पालना गरेर हिँडोस् भन्ने चाहन्छु ।’
अन्त्यमा दिदी एउटा फोटो खिचुम् न भन्दा लजाएर मुखमा लगाएको मास्क खोल्नै मानिनन् । ५ मिनेटको अथक प्रयासपछि मास्क चिउँडो सम्म सारिन् । एक दुईवटा फोटो मात्र केही खिचेको थिएँ, ‘ल भयो है अब’ भन्दै हाँस्दै पुनः आफ्नो ड्युटीतिर लागिन् । म भने मनमनै ‘कडा’ स्वभावकी भनिएकी यिनी त कति सरल रहेछिन् भन्दै आफ्नो पूर्वानुमानलाई गलत ठहराउँदै पुलचोक अफिसतिर लम्किएँ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget